१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ११ बिहीबार ०९:१२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जिससले रोक्यो यातायात कार्यालय भक्तपुरको भवन निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ११ बिहीबार ०९:१२:००

सूर्यविनायक नगरपालिका– ७ गुन्डुस्थित यातायात कार्यालय भक्तपुरको भवन निर्माणमा विवाद भएको छ । भवन निर्माण हुने क्षेत्रको माटो बेचेको र वैकल्पिक सडकको व्यवस्था नगरेको भन्दै जिल्ला समन्वय समिति भक्तपुरले भवन निर्माण नै रोकेको हो ।

११ रोपनी क्षेत्रफलमा बन्न लागेको यातायात कार्यालयको भवनका कारण सडक भत्किने भन्दै जिससले सडकको विकल्प माग गरेको छ । जिसस प्रमुख ईश्वरबहादुर थापाले त्यस क्षेत्रमा बाक्लो बस्ती रहेको, तर ओहोरदोहोरका लागि अरू सडक नभएको बताए । यहीकारण, वैकल्पिक सडकको व्यवस्था गरेर मात्रै भवन निर्माण गर्न उनको आग्रह छ । उनले भवन निर्माणस्थलको माटो बेच्न थालेको आरोप पनि लगाए । ‘भवन निर्माण गर्ने नाममा नगरपालिकासँग मिलेर माटोसमेत बेच्ने काम भएको छ ।,’ उनले भने । उनले काम गर्नेवेला आफूहरूसँग समन्वय नगरेको र जमिन सम्याउँदा निस्केको माटो बिक्री गरेपछि भवन निर्माण रोगेको बताए । 

कौशिल बस्नेत निर्माण सेवा प्रालिसँग भवन निर्माणका लागि २७ माघ ०७८ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक–पटक भवन निर्माणमा अवरोध हुँदै आएको सूर्यविनायक नगरपालिका– ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए । उनले एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको भवन निर्माणमा अवरोध पु¥याउन नहुने बताए ।

 हाल भक्तपुर यातायात कार्यालय जगातीस्थित भाडाको भवनमा छ । प्रदेश सरकारको १४ करोडभन्दा बढी बजेटमा भवन निर्माण हुन लागेको हो । भवन दुई वर्षभित्र बन्ने सहमति भएको छ । तर, जमिन सम्याउने क्रममै माटो बिक्री गरेको र सडकको विकल्प नदिएको जिससको भनाइ छ । भक्तपुर यातायात कार्यालयको ट्रायल सेन्टर राधेराधेमा छ । यो पनि भाडाकै जग्गामा हो । यातायात कार्यालयले जगातीमा रहेको भाडाको भवनमा मासिक झन्डै चार लाख भाडा तिर्छ ।