नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो जित निकालेको छ । नेपालका ३ ब्याट्सम्यानले अर्धशतक प्रहार गरेको खेलमा नामिबिया ३ विकेटले पराजित भयो ।
युवा अलराउन्डर कुशल मल्ल उत्कृष्ट लयमा देखिएका छन् । घरेलु मैदानमा उनले शुक्रबार र शनिबार लगातार अर्धशतक प्रहार गरे । यससँगै नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा लगातार तीन खेल जितेको छ । शनिबार नामिबियालाई ३ विकेटले पराजित गर्ने क्रममा कुशलसँगै नेपालबाट आसिफ सेख र ज्ञानेन्द्र मल्लले पनि अर्धशतक बनाए । कुशलले ४९ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ६२ रन जोडेका थिए । यसअघि शुक्रबार कुशलकै ८१ रनको योगदानमा नेपालले डिभिजन २ च्याम्पियन स्कटल्यान्डलाई हराएको थियो ।
अलराउन्ड प्रदर्शन
स्कटल्यान्डविरुद्ध कुशलले ७६ बलमा नौ चौका र चार छक्का प्रहार गरेका थिए । उक्त खेलमा उनले दुई विकेट पनि लिए । ७७–५ को नाजुक अवस्थामा क्रिजमा आएका कुशलले धैर्यता देखाउँदै नेपालको सम्भावित हार टारेका थिए । जारी विश्व क्रिकेट लिग डिभिजन २ मा कुशलको यो तेस्रो अर्धशतक हो । उनले अमेरिकाविरुद्ध सन् २०२१ मा शतक प्र्रहार गरेका थिए ।
१५ वर्षको उमेरमै एकदिवसीय खेल खेल्ने कीर्तिमान बनाएका कुशल घाइते भएर झन्डै १० महिना टोलीबाहिर थिए । पहिलो खेलमा कुशलले रन बनाउन नसके पनि एक विकेट लिएका थिए । पूर्वखेलाडी तथा राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले कुशल करिअरकै उत्कृष्ट लयमा रहेको बताए । ‘कुशल मल्ल निकै लयमा रहेको उसको प्रदर्शनले बताइरहेको छ । हामीले यही प्रदर्शनको आशा गर्दै छनोट गरेका थियौँ । न्याय भएको छ । ऊ राम्र्रो खेलाडी हो । भविष्य राम्रो छ,’ चौधरीले नयाँ पत्रिकासँग भने ।
नेपालको लगातार तेस्रो जित
कुशलले उत्कृष्ट प्रदर्शन जारी राख्दा नेपालले कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा लगातार तेस्रो जित निकालेको छ । सन् २०१९ बाट सुरु भएको लिग २ मा नेपालले पहिलोपटक लगातार तेस्रो जित निकालेको हो । नेपालले नामिबियालाई मंगलबार पहिलो खेलमा दुई तथा स्कटल्यान्डलाई शुक्रबार तीन विकेटले हराएको थियो ।
नेपालले सन् २०२० मा ओमान भ्रमणमा घरेलु टोली ओमान र अमेरिकालाई हराउँदै लगातार दोस्रो जित निकालेको थियो । सन् २०२१ मा संयुक्त अरब इमिरेट्स युएईमा समेत नेपालले घरेलु टोली र पपुवा न्युगिनीलाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो । जितपछि नेपाल २७ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा छ । नामिबिया ३३ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । च्याम्पियन स्कटल्यान्ड ४८ अंकसहित शीर्षस्थानमा छ । शृंखलाको अन्तिम खेलमा मंगलबार नेपालले स्कटल्यान्डको सामना गर्नेछ ।
ज्ञानेन्द्र र आसिफको कीर्तिमानी साझेदारी
नामिबियाविरुद्ध शनिबार ओपनर आसिफ सेख र तेस्रो नम्बरमा क्रिजमा आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेका छन् । उनीहरू मिलेर एक सय ३९ रनको इनिङ्स खेले । जो एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि जारी प्रतियोगिताअन्तर्गत नै नामिबियाविरुद्ध कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक सय ३३ रनको साझेदारी गर्दै बनाएको किर्तिमान आसिफ र ज्ञानेन्द्रले तोडेका हुन् ।
ओपनर कुशल भुर्तेललाई २.१ ओभरमै गुमाएको नेपालका लागि सर्वाधिक ८१ रन बनाएका अर्का ओपनर आसिफ ‘प्लेयर अफ दि म्याच’समेत बने । उनले ९८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७४ बलमा पाँच चौका र तीन छक्का मद्दतमा ६५ रन बनाए । नेपालले एक सय ४८ रनमा दोस्रो विकेटको रूपमा ज्ञानेन्द्रलाई गुमाएको थियो । त्यसैगरी, कुशल मल्लले ६२ रन बनाएर इनिङ्स उकासे । कुशल र रोहितले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भएको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा सस्तैमा समेटिए । यसपछि क्रिजमा आएका सोमपाल कामीले फिनिसरको भूमिका खेले । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलमानले सर्वाधिक १० ओभरमा दुई मेडनसहित सर्वाधिक तीन विकेट लिएका थिए । बर्नार्ड स्चोल्टजले दुई तथा टान्गेनी लुंगामेनी र पिकी या फ्रान्सले समान एक विकेट लिन सफल भए ।
लिग २ मा सन्दीपको ५० विकेट पूरा
६ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ मा ५० विकेट पूरा गरेका छन् । शनिबार सन्दीपले नामिबियाविरुद्धको दोस्र्रो खेलमा तीन विकेट लिए । यससँगै उनको विकेटसंख्या ५१ पुगेको छ । सन्दीप लिग २ मा सर्वाधिक विकेट लिने तेस्रा खेलाडी हुन् ।
सन्दीपअघि ओमानका बिलाल खान ७६ र अमेरिकाका सौरभ नेत्रावल्करले ५८ विकेट लिएका छन् । नाबालिग बलात्कारको अभियोग लागेर २० लाख धरौटीमा रिहा भएका सन्दीपले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिवि मैदानमा जारी प्रतियोगिताको तीन खेलमा ९ विकेट लिइसकेका छन् । सन्दीपलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको थियो ।
नामिबियाको बलियो लक्ष्य
टस हारेर सुरुवाती ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७४ रन बनाएको थियो । उसका लागि विकेट किपर तथा मध्यक्रमका ब्याट्सम्यान जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । ६३ बलमा जानले ११ चौका र एक छक्का हिर्काएका थिए ।
पिकी या फ्रान्सलाई सोमपाल कामीले रनआउट गराउँदा अर्धशतक प्रहार गर्नबाट चुके । पिकीले ३९ बलमा चार चौका र तीन छक्का मद्दतमा ४९ रन बनाए । ओपनर लोहान्द्रे लौव्रेन्सले ४१ रनको योगदान गरे । रुवेन ट्रुम्पेलमानले अविजित २४, कार्ल बिर्केन्ट्रोकले २०, माइकल भान लिन्गेनले २२, कप्तान गेरहार्ड इरास्मस र जान निकोलले समान १५ रन बनाए ।