
रामेछापको ऐतिहासिक स्थल शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त क्षेत्रमा पहिलोपटक शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगिता) गरिने भएको छ।
उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा आगामी चैत्र ४ गते सञ्चालन हुनेछ। विभिन्न तीन विधामा हुने उक्त दौड प्रतियोगिताको मुख्य उद्देश्य जिल्लाको स्थानीय पर्यटन, संस्कृति र परिदृश्य प्रवर्द्धन गर्नु रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।
प्रतियोगिता ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दूरी गरी तीन विधामा सञ्चालन हुनेछ। यी तीनवटै विधामा महिला र पुरुष खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।
५५ किलोमिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापती गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट जिल्लाकै ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्वा वजार, अग्लेश्वरी, दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुुग्नुपर्नेछ। त्यस्तै, २५ किलोमिटर दौडमा सहभागी हुनेहरू सुनापतीको हिलेदेवी, गाल्वा, अग्लेश्वरी, दोरम्बा हुँदै शैलुुङ डाँडा पुुग्नेछन् भने ५ किलोमिटिर दौड दोरम्बाको शैलुङ क्षेत्रमा हुने जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख अर्जुन कार्कीले जानकारी दिए।
म्याराथनमा सहभागी खेलाडीमध्ये ५५ किलोमिटरमा प्रथम हुनेलाई नगद रु.७५ हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, २५ किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ४० हजार, २० हजार र १० हजार तथा ५ किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ।