मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २७ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २७ शुक्रबार o७:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल उपविजेतामा सीमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २७ शुक्रबार o७:५६:oo

नेपाल साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको फाइनलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदा नेपाल पुनः उपविजेतामै सीमित बनेको हो । सन् २०१८ को पहिलो संस्करणमा नेपाल बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेतामै चित्त बुझाएको थियो । वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल मैदानमा बंगलादेश अपराजित रहँदै च्याम्पियन बन्यो । बंगलादेशले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो । 

बंगलादेशको जितमा शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नति खातुनले समान एक गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा बंगलादेश १–० ले अघि बढ्यो । बंगलादेशकी शाहिदाले अग्रता गोल गरेकी हुन् । नेपाली रक्षक कुमारी तामाङले बक्सभित्रबाट क्लियर गरेको बललाई शाहिदाले नियन्त्रणमा लिएकी थिइन् । बक्सबाहिरबाट शाहिदाले प्रहार गरेको बल सीधै गोल भएको थियो । 

इन्जुरी समयमा गोल 
पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले बंगलादेशलाई २–० को स्थितिमा राखिन् । नेपाली रक्षापंक्तिबीचको गतिलो तालमेल नभएको फाइदा उठाउँदै शामसुनाहारले गोल गरेकी थिइन् । प्रतियोगितामा उनको छैटौँ गोल हो । बंगलादेशकी शामसुनाहार सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता चुनिइन् । 

खेलको ८७औँ मिनेटमा उन्नतिले बंगलादेशलाई ३–० को सहज जित दिलाइन् । फ्रिकिकमार्फत प्राप्त बललाई उन्नतिले गोल लाइनबाट गोल गरेकी हुन् । प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रो भेटमा समेत हराउन सफल भयो । राउन्ड रोबिनको उद्घाटन खेलमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुईमा रहँदै बंगलादेश र नेपाल फाइनलमा पुगेका हुन् । बंगलादेशको तीन खेलबाट सात अंक र नेपालले ६ अंक बनाएको थियो । भारत र भुटान राउन्ड रोबिन लिगबाटै बाहिरिए । 

बंगलादेश तेस्रोपटक च्याम्पियन 
बंगलादेश तेस्रोपटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । सर्वाधिक विजेता बन्ने क्रममा बंगलादेशले फाइनलमा नेपाल र भारतलाई हराएको छ । सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपमा नेपाललाई १–० ले हराउँदै बंगलादेश च्याम्पियन भएको थियो । सन् २०२१ मा साफ यू–१९ महिला च्याम्पियनसिप आयोजना हुँदा भारतलाई १–० ले हराउँदै बंगलादेश लगातार दोस्रोपटक उपाधि जित्न सफल भयो । सन् २०२२ मा घरेलु मैदानमा बंगलादेशलाई अघिल्लो सिजनको हारको बदला लिँदै भारत यू–१८ महिला च्याम्पियनसिपमा पहिलोपटक च्याम्पियन भएको थियो ।