१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका न्युयोर्क
२o७९ माघ २५ बुधबार o८:३५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गुगलले ल्यायो च्याटजिपिटीको प्रतिस्पर्धी च्याटबोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार o८:३५:oo

आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)को अनुसन्धानमा समर्पित अमेरिकी कम्पनी ओपनएआईले केही समयअघि सार्वजनिक गरेको च्याटबोट टुल ‘च्याट–जिपिटी’ले भाइरल स्तरमा सफलता हासिल गरिरहेको छ । सार्वजनिक भएपछिका दुई महिनासम्म प्रतिस्पर्धीविहीन रहेको च्याट–जिपिटीले अब भने च्याटबोट टुलमा विश्वप्रसिद्ध कम्पनी गुगलको सामना गर्नुपर्ने भएको छ । गुगलले आफूले निर्माण गरेको नयाँ च्याटबोट टुल ‘बार्ड’ सोमबार सार्वजनिक गरेको छ ।

गुगल र उसको मातृ कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाईले एक ब्लग पोस्टमा बार्ड सोमबारबाट ‘विश्वसनीय परीक्षणकर्ता’माझ खुला भएको र आगामी केही हप्तामा सर्वसाधारण प्रयोगकर्ताका लागि उपलब्ध गराउने योजना रहेको उल्लेख गरेका छन् । च्याट–जिपिटीजस्तै गुगलको बार्ड पनि ल्यांग्वेज मोडलमा नै निर्मित छ । यी ल्यांग्वेज मोडललाई प्रयोगकर्ताले सोधेका प्रश्नको तत्काल आकर्षक जवाफ दिन अनलाइनमा मौजुद विशाल डेटा उपयोग गर्न सक्ने गरी प्रशिक्षित गरिएका छन् ।

‘बार्डले विश्वको ज्ञानको गहिराइलाई हाम्रो विशाल ल्यांग्वेज मोडलहरूको सिर्जनशिलता, बुद्धिमत्ता र शक्तिसँग जोड्न खोजेको छ,’ पिचाईले लेखेका छन्, ‘यसले ताजा र उच्च गुणस्तरका जवाफ प्रदान गर्न वेबका जानकारीहरू उपयोग गर्छ ।’ गुगलको मुख्य उत्पादन अनलाइन सर्च अर्थात् गुगल सर्च इन्जिनले पछिल्लो समय उल्लेख्य चुनौतीको सामना गरिरहेको थियो । त्यसैले पनि बार्डलाई निकै चासोका साथ हेरिएको छ । 

गत नोभेम्बरमा सार्वजनिक भएयता निबन्ध, कथा एवं गीतका शब्द रचना गर्न र गुगलमा पहिले नै खोजी गरिएका प्रश्नहरूको जवाफ दिन च्याट–जिपिटीको प्रयोग बढ्दो रूपमा भइरहेको छ । च्याट–जिपिटीको भाइरल सफलताले आफ्नो सर्च इन्जिन व्यवसाय खतरामा पर्न लागेको गुगल व्यवस्थापनको बुझाइ थियो । जिमेलका सर्जकमध्येका एक पाउल बुचेइटले त आफ्नो गत वर्षको एउटा ट्विटरमा नै एआईको उदयका कारण अब गुगल पूर्ण व्यवधानबाट अब केवल एक वा दुई वर्ष मात्र पर हुन सक्ने पूर्वचेतावनी दिएका थिए ।

च्याट–जिपिटी निर्माण गरेको कम्पनी ओपन एआईमा अर्बाैँ डलर लगानी गर्ने निश्चय गरेको प्रविधि जायन्ट माइक्रोसफ्टले यो च्याटबोट टुललाई आफ्ना केही उत्पादनमा समावेश गर्ने बताइसकेको छ । उसले आफ्नो सर्चइन्जिन ‘बिन्ग’मा समेत च्याट–जिपिटीलाई एकीकृत गर्ने योजना बनाइरहेको पनि गाइँगुइँ सुनिन थालेको छ ।

व्यापक रूपमा उपलब्ध नरहे पनि बार्डलाई सपोर्ट गर्ने केही टेक्नोलोजी पहिलेबाटै उपलब्ध छन् । गुगलले आफ्नो ल्यांग्वेज मोडल फर डायलग एप्लिकेसन (लाम्डा) सार्वजनिक गरेको करिब दुई वर्ष भसकेको छ । बार्डमा यही प्रविधि उपयोग गरिएको छ । 

बार्डले कुराकानीको शैलीमा जवाफ पस्किन्छ । सोमबारको पोस्टमा गुगलले बार्डलाई नासाको जेम्स बेव स्पेस टेलिस्कोपले गरेका नयाँ खोजीबारे बताउन भनेर एकजना प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ उदाहरणका लागि प्रस्तुत गरिएको छ । बार्डले दिएको जवाफ यस्तो छ, ‘सन् २०२३ मा जेडब्लुएसटी टेलिस्कोपले ‘ग्रिन पिज’ नाम राखिएका ग्यालेक्सी पत्ता लगाएको छ । केराउजस्तै हरिया, गोला र साना देखिएकाले यिनलाई यो नाम दिइएको हो ।’ 

विज्ञहरूले गुगलले यो एआई च्याटबोटलाई आफ्नो सर्च इन्जिनमा एकीकृत गरे त्यसले केही समस्या निम्त्याउन सक्ने खतरा रहेको बताएका छन् । उनीहरूका अनुसार गुगल बार्डलाई आफ्नो सर्च इन्जिनमा समावेश गर्ने दिशामा अघि बढ्यो भने यसले केही जोखिम निम्त्याउन सक्छ । च्याटबोट टुलहरू अनलाइन डेटामा प्रशिक्षित हुने भएकाले यिनले पूर्वाग्रही र गलत जानकारी फैलाउन सक्ने सम्भावना रहेको उनीहरूको तर्क छ । 
एजेन्सी