सार्वजनिक बिदा बढेपछि पुनर्विचार गर्ने सरकारको तयारी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्री र सचिवहरूको मूल्यांकन गर्ने भएको छ । एकीकृत कार्ययोजनाका आधारमा यस्तो मूल्यांकन गरिन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्री र सचिवहरूलाई कार्यालयमा बोलाएर यसका लागि निर्देशन दिएका छन् ।
सरकारको नीतिगत प्राथमिकता, न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्रीले संसद्मा राखेका विषयसमेत समेटेर कार्यालयले तयार गरेको एकीकृत कार्ययोजनालाई संशोधनसहित आवश्यक जनशक्ति, स्रोतसमेत व्यवस्थापन गरी तोकिएकै समयमा तदारुकताका साथ कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यसको कार्यान्वयनको प्रगतिको कार्यालयमा ‘प्रोग्रेस चार्ट’ राखिने र यसैको आधारमा मन्त्री र सचिवहरूको मूल्यांकन हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेपालमा पछिल्ला दिनहरूमा सार्वजनिक बिदाको संख्या बढिरहेको र नेपाल सरकारबाट दिइने यस्ता सार्वजनिक बिदा धेरै हुँदा नागरिकको सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव देखिरहेकाले यसबारे पुनर्विचार गरिने कार्यालयले बताएको छ । राजस्व संकलनका क्षेत्रमा देखिएका वर्तमान चुनौतीलाई तत्काल समस्या समाधानका लागि राजस्व चुहावट क्षेत्र पहिचानसहित ‘चेन ब्रेक’ गर्न र राजस्व चुहावट गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।