मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार o६:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन आगमन तीन गुणाले बढ्यो

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार o६:२३:oo

कोभिड महामारीसँगै सुस्ताएको विदेशी पर्यटक आगमन सन् २०२३ मा पुरानै लयमा फर्किने संकेत देखिएको छ । वर्षको पहिलो महिना जनवरीमा ५५ हजार ७४ पर्यटक विमानबाट नेपाल भ्रमणमा आएका छन् । महामारी सुरु हुनुअघि जनवरी २०१९ मा हवाई र सडक मार्गबाट ८१ हजार २७३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

यस वर्षको पहिलो महिना पर्यटक आगमन करिब ६८ प्रतिशत रिकभरी भएको छ । तर, जनवरी २०२२ को तुलनामा भने पर्यटक आगमन तीन गुणाभन्दा बढीले वृद्धि भएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । जनवरी २०२२ मा विभिन्न देशबाट १६ हजार ४३६ पर्यटक नेपाल आएका थिए । 

यस्तै, जनवरी २०२० मा ७९ हजार ७०२ र जनवरी २०२१ मा आठ हजार ८७४ पर्यटक मात्र नेपाल भ्रमणमा आएको तथ्यांक छ । कोभिड कम हुँदै गएपछि सन् २०२२ भरिमा विभिन्न देशबाट जहाज चढेर ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो संख्या कोभिडअघि सन् २०१९ को तुलनामा ६५.१२ प्रतिशत हो । 

नेपालमा पर्यटक आगमनले बढ्दो ट्रेन्ड समातेको पर्यटन बोर्डका निर्देशक मनी लामिछानेले बताए । आगामी पर्यटकीय सिजन मार्चदेखि देशमा पर्यटक आगमन उत्साहजनक रहने उनको अपेक्षा छ । मार्चदेखि सुरु हुने सिजनका लागि होटेल तथा ट्राभल एजेन्सीमा राम्रो बुकिङ रहेको छ । ‘मार्चदेखि पर्यटन क्षेत्रमा सुखद लहर आउने विश्वास छ,’ वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले भने, ‘पर्यटकको बुकिङ राम्रो आएको हुनाले सायद सबै उत्साहित हुनुपर्छ ।’ 

२०२३ जनवरीमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । एक महिनामा भारतबाट १६ हजार ४३६ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यस्तै, अमेरिकाबाट ६ हजार ५६१, अस्ट्रेलियाबाट तीन हजार ४४१, बंगलादेशबाट दुई हजार ४६८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक भारती हुने गर्छन् । खुला सिमाना हुनाले भारतबाट बस तथा कारबाट आउने पर्यटक अझ धेरै हुने गर्छन् ।

कोभिडअघिसम्म भारतीयपछि सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गर्थे । तर, महामारी सुरु भएपछि चीन सरकारले आफ्ना पर्यटकलाई विदेशमा घुम्न निस्कन कडाइ गरेको छ । चीनले पहिलोपटक ६ फेब्रुअरीदेखि  आफ्ना नागरिकका लागि आउटबाउन्ड विदेश घुम्न खुला गर्दै छ । तर, चिनियाँले घुम्न पाउने देशको सूचीमा नेपाल अटाएको छैन ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा प्रकाशित गरेको सूचनामा चिनियाँहरू आउटबाउन्ड टुरिजममा जान पाउने देशहरूमा थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, युएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस,  स्विट्जरल्यान्ड, हंगेरी, न्युजिल्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् ।

चिनियाँ पर्यटक नआउँदा नेपाली पर्यटन क्षेत्रलाई ठूलो धक्का हुने व्यवसायी मिश्रको भनाइ छ । ‘भारतीयपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ हुने गर्थे, तर कोभिडपछि चिनियाँ पर्यटक आगमन शून्यजस्तै छ,’ उनले भने, ‘सरकारले कूटनीतिक माध्यमबाट नेपाल सुरक्षित रहेको र चिनियाँहरूलाई नेपाल पनि घुम्न जान सकिने देशको सूचीमा राख्न पहल गर्नुपर्छ ।’
पछिल्लो समय नेपाल भ्रमणमा आउने पर्यटकमा भारतीय, अमेरिका, युके, अस्ट्रेलिया, क्यानडा, बंगलादेश, पाकिस्तान, अस्ट्रिया, जर्मनी, फ्रान्सलगायत देशका धेरै हुने गरेका छन् ।