
सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यसहित देशभर स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालित छ । तर, कर्णालीजस्ता दुर्गमका विपन्न नागरिक अपेक्षित रुपमा अझै पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । बिमाका फाइदाबारे जानकारी नपाउँदा र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखौँ विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रमबाट वञ्चित भएका हुन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । जसमध्ये स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ६ वर्ष बितेर सात वर्ष लागिसक्दा पनि कर्णाली प्रदेशका तीनचौथाइ नागरिक बिमा कार्यक्रमबाट वञ्चित रहेका छन् ।
करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हालसम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ । जुन कुल जनसंख्याको २१ प्रतिशत मात्रै हुन आउँछ । यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात् ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ । वार्षिक ३५ सय रुपैयाँ तिरेपछि पाँचजनाको परिवारले एक लाखसम्मको निःशुल्क उपचार पाउने व्यवस्था छ ।
बिमाबारे शिक्षा दिन नसक्नु सरकारकै कमजोरी रहेको जुम्लाका राजबहादुर महत बताउँछन् । ‘बिमाको सेवा प्रवाहमा केही ढिलासुस्ती छ, धेरै जनतालाई थाहा पनि छैन,’ उनी भन्छन् ‘बिमामा आबद्ध भएकाहरूले कार्यक्रमबाट राहत पाएका छन् ।’
प्रदेश सरकारले सबै नागरिकलाई बिमाको पहुँचमा पुर्याउने नीति ल्याउनु जरुरी रहेको उनको बुझाइ छ । कर्णालीमा ०७४ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।
सुर्खेतमा बढी र डोल्पामा कम
कर्णाली प्रदेशका साढे तीन लाख नागरिक स्वास्थ्य बिमित बनेका छन् । कार्यक्रम सञ्चालन भएको ५ वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसंख्या रहेकोमा हालसम्म ३ लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बिमाको पहुँचमा पुगेका हुन् । जसमध्ये जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय जुम्लाले जनाएको छ ।
करिब १ लाख २० हजार जनसंख्या रहेको जुम्लामा अझै ५२ हजार २ सय ६२ भन्दा बढी नागरिक बिमाबाट वञ्चित रहेको पाइन्छ । यद्यपि, बिमाको पहुँच विस्तार तथा सचेतनाको कार्यक्रम अघि बढेको स्वास्थ्य बिमा कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका लागि सेवा क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ ।
त्यस्तै, राष्ट्रिय बिमा बोर्डको तथ्यांकअनुसार सुर्खेतका ७५ हजार ४२३ जना, दैलेखका २० हजार ३४४ जना, हुम्लाका १४ हजार १४२, सल्यानका ९ हजार २०१ नागरिक बिमाको पहुँचमा पुगेका छन् । साथै, डोल्पाका २ हजार ६६०, रुकुम पश्चिमका ७० हजार २५१, जाजरकोटका ४४ हजार २१७, कालिकोटका ४५ हजार ५५४ र मुगु जिल्लाका ६ हजार ९३ जना गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकमा उल्लेख छ । हालसम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बिमित रहेका छन् ।