Skip This
कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १५ आइतबार २o:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार २o:३o:oo

जिल्ला सदरमुकाम सिराहास्थित जिल्ला कारागारमा तीनजना कैदीलाई सरुवाका लागि रमाना लिएर निस्किने वेलामा कैदीबन्दीहरूबीच झडप र नाराबाजी हुँदा चारजना घाइते भएका छन्। 

कारागार व्यवस्थापन विभागको गत २२ पुसको पत्रअनुसार दुईजना कर्तव्यज्यान र एकजना लागुऔषध मुद्दाका गरी तीनजना कैदीलाई सरुवा गराउन शनिबार बिहान रमानापत्र बनाएर कारागारबाट निकाल्ने वेलामा झडप भएको जेलर भवेशकुमार झाले बताए। 

जेलर झाका अनुसार कारागारभित्र जडान गरिएको सिसिक्यामेराको कभरेज नपुग्ने ठाउँमा हानाहान हुँदा कारागारमा अन्य चारजना कैदीबन्दी घाइते भएपछि शनिबार दिनभर र आइतबार मध्याह्नसम्म कारागारमा नाराबाजी भएको थियो।

‘कर्तव्यज्यान मुद्दाका कैदी धनुषाका मनक लामा र मिर्चैया- २ का रुपेश भनिने इन्दल यादव तथा गोलबजारका लागुऔषध मुद्दाका संजीव मोक्तानलाई विभागको पत्रअनुसार शनिबार बिहान करिब ८ बजेतिर सुनसरीको झुम्का कारागार सरुवा गर्न बाहिर निकाल्ने तयारी थियो,’ उनले भने, ‘त्यही वेला कारागारभित्र हानाहान हुँदा नाथ्री फुटेको, गालामा चोटपटक अन्य चारजना कैदीबन्दी घाइते भएछन्।’ 

तत्काल कारागारको सुरक्षार्थ खटिएका प्रहरीको सहयोगमा घाइते भएका विजयकुमार महतो, ओमेन्द्रकुमार पासवान, सन्तोषकुमार पासवान र राजन पासवानलाई सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार गरी विभागसँगको समन्वयमा सुरक्षाका लागि शनिबार रातभर जिल्ला प्रहरीमा राखिएको उनले बताए। उनका अनुसार झडप भए पनि लामा, यादव र मोक्तानसहित तीनजनालाई भने शनिबार नै झुम्का कारागार पठाइएको छ। 

‘अदालतबाट फैसला भइसकेका अभियुक्तलाई कारागारबाहेक अन्य ठाउँमा राख्न नमिल्ने तर कारागारमा ल्याउन दिदैनौँ भन्दै आइतबार बिहान पनि कैदीबन्दीहरूको नाराबाजी भएपछि विभागसँग समन्वय गरी अपराह्न करिब साढे ५ बजेतिर सरुवाको पत्र प्राप्त भएपछि प्रहरीमा राखिएका चारजनालाई पनि उपचारपछि सप्तरी कारागार पठाइएको छ,’ उनले भने। 

कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कुल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि करिब चार गुणाभन्दा बढी कैदी र थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनका अनुसार सिराहा कारागारमा ३१ महिला र तीन आश्रित तथा छ सय सात पुरुष कैदीबन्दी रहेको जनाइएको छ।