मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १४ शनिबार ०९:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशमा व्यावसायिक वातावरण सहज बनाउन चेम्बरको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १४ शनिबार ०९:१९:००

नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । देशमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो ।

व्यावसायिक कठिनाइका कारण व्यवसायीले आत्मदाह गर्ने अवस्था आउनु देशकै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सिर्जित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भीर असर गरेको छ । व्यावसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुःखद घटना हो ।’

देशमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झन्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने–दिने प्रक्रियालाई सेवामुखी बनाउनुपर्ने चेम्बरले जनाएको छ । उच्च ब्याजदर नियन्त्रण एवं लगानीमुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटक–पटक ध्यानाकर्षण गराएको चेम्बरले उल्लेख गरेको छ ।

देशमा हुने उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवं डिजिटल प्रणालीमा लैजान चेम्बरले आग्रह गरेको छ । चेम्बरले ब्याजदरको स्थायित्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंंक एवं बैंक वित्तीय संस्थालाई पुनः आग्रह गरेको छ । पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषिलगायतका क्षेत्रको उद्यमशीलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।