
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ६ हजार नौ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन प्रतितोला रु. एक लाख ६ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रु. सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ६ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख पाँच हजार सात सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा रु. १५ ले बढेर प्रतितोला रु. एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ । रासस