Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव राजविराज
२०७९ माघ ९ सोमबार १४:०२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

म्याच फिक्सिङको आरोपमा दुई क्रिकेटर प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ माघ ९ सोमबार १४:०२:००

म्याच फिक्सिङ गरेको आरोपमा नेपाल प्रहरीले दुई क्रिकेट खेलाडीलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली क्रिकेट टोलीका पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र अहिलेको राष्ट्रिय टोलीका आदिल अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएका उनलाई काठमाडौं पठाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।

नेपाल टी–२० क्रिकेट लिगमा स्पट र म्याच फिक्सिङको घटना सार्वजनिक भएपछि सिआइबीले अनुसन्धान थालेको थियो । लिगका नेपाली कमेन्टेटर सचिन तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा फिक्सिङ भइरहेको खुलासा गरेका थिए ।

आफूले क्यानका पदाधिकारीलाई त्यसबारे जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले लिगको कमेन्ट्री नै छाडेका थिए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि पत्रकार सम्मेलनमै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।