मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
सौरभ यादव राजविराज
२०७९ माघ ९ सोमबार ११:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता छानबिन गर्न प्रशासनले पठाएको पत्र प्रहरी कार्यालयबाटै गायब

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ माघ ९ सोमबार ११:१९:००

शंकास्पद नागरिकता छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पाँच महिनाअघि पठाएको पत्र नै गायब भएको पाइएको छ ।

गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालय पुगेका राजविराज नगरपालिका– ७ का राजनारायण मिश्रको नागरिकता जफत गरिएको थियो । छोराको नागरिकता लिन आएका मिश्रकै नागरिकता शंकास्पद पाइएपछि प्रशासनले बाबुकै नागरिकता जफत गरी छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो । तर, सो पत्र जिल्ला प्रहरी कार्यालयबाटै गायब भएको खुलेको छ ।

जफत गरिएको नागरिकताअनुसार ०५१ असोज २५ गते मिश्रको नाममा ४५८/३०० नम्बरको नागरिकता जारी भएको छ । तर, तत्कालीन प्रशासकीय अधिकृत हरिहर दाहालको हस्ताक्षरमा भने ०५१ असार २१ गते उल्लेख छ ।

‘नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत दाहालको हस्ताक्षर पनि मिलेको छैन । नागरिकता जारी गरिएको मितिले पनि नक्कली नै देखिन्छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले भन्यो, ‘जारी मितिअनुसार कार्यालयमा अभिलेख पनि फेला परेको छैन । र, नागरिकता कार्ड पनि कार्यालयकै हो भनेर यकिन गर्न सक्ने अवस्था छैन ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकताबारे छानबिन गर्न प्रहरीलाई पत्राचार गरिएको बताए  । ‘हामीले छानबिनका लागि प्रहरीमा पठाइसकेका छौँ,’ उनले भने, ‘त्यहाँबाट आइसकेपछि सोहीअनुसार अघि बढ्छौँ ।’ तर, जिल्ला प्रहरी कार्यालयबाटै सो पत्र गायब भएपछि छानबिन अघि बढ्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पत्रको खोजी भइरहेको बताए । ‘मैले पत्र खोजी गर्न लगाइसकेको छु । यता–उता भएको हुन सक्छ, फेला नपर्ने भन्ने हुँदैन,’ उनले भने ।

नागरिकताजस्तो संवेदनशील विषयमा प्रशासनको पत्र प्रहरी कार्यालयबाटै हराउनुले प्रहरीमाथि शंका उब्जिएको स्थानीय बताउँछन् । पत्र हराउनुले प्रहरीको लापरबाही देखाएको मात्र नभई शंकाको घेरामा तानेको युवा अभियन्ता श्याम यादवले बताए ।