१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठक । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीलाई विश्वासको मतले कांग्रेसमा असन्तुष्टि

देउवामाथि दबाब बढाउन शेखर–गगन समूहले थाल्यो तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२१:oo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषयले कांग्रेसमा असन्तुष्टि बढाएको छ । संस्थापनइतर समूहको आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकमा सरकारलाई समर्थन गरेको विषयमा व्यापक छलफल भएको थियो ।

साथै, १५ माघमा बस्ने केन्द्रीय समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत हुन छलफल अघि बढाएको छ । नेता चन्द्र भण्डारीका अनुसार बैठकमा समसामयिक विषय, सरकारलाई समर्थनपछि कांग्रेसका देखिएको ‘कन्फ्युजन’लगायत विषयमा छलफल भएको थियो । ‘सदन र केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफलमा जुटेका हौँ ।

छलफमा तीनै तहको निर्वाचनमा जनतामा प्रतिबद्धता लिएर गएको पाँचदलीय गठबन्धन किन टुट्यो ? अहिलेको अवस्थामा किन सरकारलाई समर्थन गरियो ? कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्न सकिरहेको छैन ? कांग्रेस प्रतिपक्षमा बस्ने कि राष्ट्रपतिका लागि भनेर हिँडिरहने भन्नेलगायत विषयमा छलफल भयो,’ नेता भण्डारीले भने । 

शेखर कोइराला–गगन थापा पक्षका नेताहरूले सरकारलाई विश्वासको मत दिनु गलत भएको विषय जोडदार ढंगले उठाएका थिए । कांग्रेस सशक्त प्रतिपक्षका रूपमा नबसी सरकालाई विश्वासको मत दिनु उचित नभएको धेरैको धारणा थियो । डा. शेखर कोइरालाले आफूहरूले सरकारलाई समर्थन नगर्न प्रस्ताव गरे पनि बहुमतले निर्णय गरेकाले समर्थन गर्न बाध्य भएको बताएका थिए । ‘हामीहरूले अन्तिम अवस्थामा पनि सरकारलाई समर्थन नगरौँ, तटस्थ रूपमा प्रतिपक्षमै बसौँ भनेर आवाज उठाएका हौँ । तर, अल्पमतको आवाज नसुन्दा सरकारलाई समर्थन गर्ने बाध्यात्मक अवस्था आयो,’ कोइरालाले भनेका थिए । 

नेताहरूले भ्रातृसंस्थालगायत पार्टीका सबै निकायमा ४० प्रतिशत अनिवार्य प्रतिनिधित्व हुनुपर्ने आवाज उठाएका थिए । उपसभापति धनराज गुरुङले डा. कोइरालालाई सभापतिको उम्मेदवारका रूपमा अघि सारेर १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए । तर, अरू नेताहरूले भने महाधिवेशनको तयारीका विषयमा कुनै धारणा राखेनन् । ‘नेतृत्व एकलौटी रूपमा पार्टी सञ्चालनमा हाबी भइरहेको अवस्था छ । हामी डा. शेखर कोइरालालाई भावी सभापतिका रूपमा अगाडि सारेर १५औँ महाधिवेशनको तयारीका लागौँ । डा. सापलाई अगाडि सारेर जाने भन्ने हाम्रो सहमति यसअघि नै छँदै छ,’ उपसभापति गुरुङले भनेका थिए । 

बैठकमा महामन्त्री गगन थापाले आफ्नो धारणा राखेका छैनन् । इतर समूहको बैठक मंगलबार बिहान ८ बजे पुनः बस्नेछ । इतर समूहले केन्द्रीय समिति बैठकमा सरकार गठनमा सभापति देउवाको असफलताका रूपमा प्रस्तुत गरेर राजीनामादेखि विशेष महाधिवेशनसम्मको मागलाई जोडदार रूपमा उठाउने तयारी गरिरहेको छ । 

बैठकमा इतर समूहका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिसहितका नेताहरू सहभागी थिए । नेता जगदीश्वरनरसिंह केसीले जनमतबाट ठूलो पार्टीको बनेको कांग्रेस सरकारबाट बाहिरिनुपर्ने अवस्थाको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका थिए ।

उनले भ्रातृसंस्थालाई पूर्णता दिन भइरहेको ढिलाइ, नेतृत्वका कारण कांग्रेसको भूमिका सरकार न प्रतिपक्षको हुन पुगेको भन्दै आक्रोश पोखेका थिए । ‘नेतृत्वकै कारण कांग्रेसले लथालिंग र अस्तव्यस्त अवस्था भोगिरहेको छ । नेतृत्वबाटै सिद्धान्तहीन गठबन्धन गर्दा हामी झनै कमजोर र रुग्ण बन्यौँ । जनताले संसद्को ठूलो पार्टी बनाए, तर नेतृत्वले सही निर्णय नगर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको छ । त्यसपछि पनि सरकारलाई समर्थन गरेर प्रतिपक्षको भूमिका कमजोर बनाइयो । यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ,’ केसीको भनाइ थियो । 

ad
ad