१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ८ आइतबार १०:१५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अञ्जनले आई लिग खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ८ आइतबार १०:१५:००

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले भारतीय आई लिग खेल्ने भएका छन् । अञ्जनलाई आई लिग क्लब केन्क्रे एफसीले जारी सिजनका लागि अुनबन्ध गरेको हो । लिगका लागि अञ्जन शनिबार भारत पुगिसकेका छन् । केन्क्रे एफसीले अञ्जन अनुबन्धित भएको पुष्टि गरेको छ । ‘नेपालका स्टार अन्तर्राष्ट्रिय खेलाडी अञ्जन विष्ट हामीसँग जोडिएका छन्,’ केन्क्रेले लेखेको छ । नेपालका लागि ११ गोल गरिसकेका अञ्जनले पहिलोपटक विदेशी लिग खेल्न लागेका हुन् । यसअघि अञ्जनका एन्फा एकेडेमी सहपाठी विमल घर्तीमगर र अनन्त तामाङले आई लिग खेलिसकेका छन् । 

अञ्जन सम्मिलित केन्क्रे एफसी हाल १२ खेलबाट १० अंकका साथ लिगको ११औँ स्थानमा रहेको छ । रेलिगेसन क्षेत्रको दबाब खेपिरहेको केन्क्रे अञ्जनको आगमनसँगै लयमा फर्कने योजनामा छ । ‘आई लिग खेल्न पाउँदा निकै खुसी छु । यो अवसरलाई सदुपयोग गर्दै प्रमाणित गर्ने योजना बनाएको छु । मेरो प्रदर्शनले आगामी दिनमा नेपालका अन्य खेलाडीको समेत आई लिगमा ढोका खोल्नेछ,’ अञ्जनले भने । 

अञ्जन १९ फागुनबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग खेल्न चर्च ब्वाइज युनाइटेडसँग अनुबन्धित भएका थिए । अञ्जनले दशरथ रंगशालामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा ह्याट्रिक तथा पाकिस्तानविरुद्ध पछिल्लो खेलमा एक गोल गरेका थिए । 

अञ्जन आगमी मार्चमा आई लिग सिजन सकिएपछि ए डिभिजन लिगका लागि नेपाल फर्किनेछन् । हाल नेपाल राष्ट्रिय फुटलब टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू आई लिग क्लब पञ्जाब एफसीमा अनुबन्धित छन् । केन्क्रे र पञ्जाबबीच १ फेब्रुअरीमा प्रतिस्पर्धा हुनेछ । केन्क्रे सोमबार शीर्ष स्थानमा रहेको श्रीनिधि डेकानसँग आमनेसामने हुनेछ । अञ्जन सोही खेलमा उपलब्ध हुने अनुमान गरिएको छ । श्रीनिधि १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको पञ्जाब २३ अंकसहित दोस्रो स्थानमा छ ।