१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘स्पिरिट’सँग औषधि खाएकी छात्राको मृत्यु, प्रिन्सिपलसहित दुईजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:५३:oo

महिनावारी भएकी छात्राले पेट दुखेको बताएपछि शिक्षिकाले दिएको औषधि स्पिरिटसँग सेवन गरेपछि छात्राको मृत्यु भएको घटनामा प्रहरीले विद्यालयका प्रिन्सिपल र शिक्षिकासहित दुईजनालाई पक्राउ गरेको छ।

सिराहाको मिर्चैयास्थित सगरमाथा उमाविका प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतक छात्राको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रिन्सिपल तिवारीसहित दुईजनालाई पक्राउ गरी अनुसन्धान थालिएको हो। 

प्रहरीका अनुसार मृतक छात्राका बाबु धर्मेन्द्रकुमार महराले दिएकोे ज्यानसम्बन्धी कसुर मुद्दाको जाहेरी आइतबार मिर्चैया प्रहरीले दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ

यसरी भयो घटना

मिर्चैयास्थित सगरमाथा उमाविमा कक्षा ८ मा पढिरहेकी करिब १५ वर्षीया सिर्जनाकुमारी महरा गत शुक्रबार सिराहा नगरपालिका– ११ पदमपुरस्थित घरबाट विद्यालयमा आएकी थिइन्। महिनावारी भएकी उनले कक्षा चलिरहेका वेला पेट दुखेको बताएपछि शिक्षिकाले उनलाई औषधि दिएको जनाइएको छ।

‘शिक्षिकाले दिएको औषधि पानीसँग सेवन गर्नुपर्नेमा कक्षाको सेतो पाटी सफा गर्न राखिएको स्पिरिटसँग सेवन गरिछिन्,’ विद्यालयका एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने।

पानीको सट्टा स्पिरिटसँग औषधि सेवन गरेकी छात्रा बेहोस भएपछि प्रिन्सिपल तिवारी स्वयंले उनको उपचार गराउनुभन्दा घर पुर्‍याएर आराम गरेपछि ठीक हुन्छ भन्दै छोडेर आएको मृतकका बाबु महराले बताए।

‘बेलैमा छोरीको अवस्थाबारे जानकारी पाएको भए उपचार गराउन सकिन्थ्यो,’ उनले भने, ‘तर, प्रिन्सिपल आफैँले झुक्याएपछि वेलैमा उपचार गराउन नसक्दा छोरी गमाउनु पर्‍याे।’

छोरीलाई घर ल्याउने वेलामा प्रिन्सिपलले ‘थोरै स्पिरिट खाएकोले नशा लागेको छ, केहीबेर आराम गरेपछि ठीक हुन्छ भनेपछि कतै नलगेको उनले बताए। 

प्रिन्सिपल फर्किएको केही घन्टापछि नै छोरीको अवस्था गम्भीर बन्दै गएपछि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइएको, तर ढिलो लगेकाले उपचारकै क्रममा शनिबार राति १२ बजेतिर निधन भएको उनले बताए। 

अस्पतालका डा. श्यामकुमार साहले स्पिरिटको कारणले सिर्जनाको फोक्सो पूरै सेतो भइकेको र अक्सिजनको कमीका कारण मृत्यु भएको हुन सक्ने बताए। 

उनले फोक्सो सेतो हुनुको कारण भने फोरेन्सिक जाँचबाट मात्र खुल्ने उल्लेख गरे। ‘एक्स–रे मा फोक्सो कालो देखिनुपर्नेमा पूरै सेतो देखिनुको कारण फोरेन्सिक जाँचपछि मात्र थाहा हुन्छ,’ डा. साहले भने। 

आक्रोशित विद्यार्थीद्वारा सडक जाम

आफ्नो सहपाठीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीको समूहले आइतबार बिहान पूर्व–पश्चिम सडकअन्तर्गत मिर्चैयाबजार खण्डमा आइबार बिहान करिब चार घन्टा सडक जाम गरेका छन्। उनीहरूले विद्यालय प्रशासनको लापरबाहीले मृत्यु भएकाले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै सडक जाम गरेका हुन्। 

सडक जाम खुलाउन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। प्रहरीले बल प्रयोग गरेर जाम खुलाए पनि विद्यार्थीले अर्को ठाउँमा पुगेर सडक अवरुद्ध गरिरहेको स्थानीयले बताएका छन्। 
 

ad
ad