१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २४ आइतबार o८:२o:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वाम–समाजवादी एकता पहल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार o८:२o:oo

माओवादी, एकीकृत समाजवादी र जसपाले कार्यदल नै बनाए, समाजवादी पार्टीले आज कार्यदल गठन गर्ने

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित धक्कापछि वाम–समाजवादी दलहरूले आ–आफ्नो ढंगले एकताको पहल थालेका छन् । माओवादी, एकीकृत समाजवादी र जसपाले एकताका लागि कार्यदल नै गठन गरेका छन् । विभिन्न पार्टीका नेताहरूबीच औपचारिक–अनौपचारिक संवाद पनि जारी छन् । 

शनिबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत छन् ।

कार्यदलले वामपन्थी दलसँग एकताका लागि छलफल गर्ने बस्नेतले बताए । ‘सबै वामपन्थी दलहरूसँग छलफल गर्छौँ,’ उनले भने, ‘विचार मिल्ने दलहरू एक ठाउँमा आउनुको विकल्प छैन । एमाले, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा, नेकपा बहुमतलगायत दलहरूसँग छलफल हुने उनले बताए । माओवादीले ११ माघमा स्थायी कमिटी र १५ माघमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

त्यसैबीच पार्टी एकताको विषयमा माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच शनिबार छलफल भएको छ । पार्टी एकता चाँडै गर्ने समझदारी भएको छलफलमा सहभागी नेसपा सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पार्टी एकता चाँडै गर्ने समझदारी छ । आइतबार राजनीतिक समितिको बैठकले कार्यदल गठन गर्छ ।’ 
तत्काल एकता नहुने वाम–समाजवादी शक्तिबीच मोर्चा बनाएर जाने पनि उनले बताए । ‘वाम–समाजवादी शक्तिबीच एकताका लागि अधिकतम प्रयास गर्छौँ । एकता हुन नसक्ने पार्टीबीच लुज फोरम बनाएर पनि जान सकिन्छ,’ उनले भने । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि पनि माओवादी र नेसपाबीच एकताको छलफल भएको थियो । नेसपाले गत निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएको थियो ।

एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदल सदस्य ज्वालाका अनुसार विशेषगरी संसद्मा प्रतिनिधित्व गर्ने वाम–समाजवादी पार्टीसँग पार्टी एकता वा कार्यगत एकताको विषयमा छलफल हुनेछ । 

माओवादी, जसपा, जनमोर्चा, नेमकिपालगायत दलसँग कार्यदलले छलफल गर्नेछ । ‘विशेषगरी संसद्मा प्रतिनिधित्व गर्ने वाम–समाजवादी पार्टीसँग सकभर एकता, नभए कार्यगत एकताको हिसाबको कुराकानी हुन्छ । विचार मिल्ने दलहरूसँग एकताको प्रयास हुन्छ,’ ज्वालाले भने । एमालेसँग संवाद हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘एमालेसँग त अहिले के होला र !’ वामदेव गौतम, भीम रावल, घनश्याम भुसाललगायत नेताहरूसँग पनि छलफल हुने बताइएको छ । एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालले बलियो कम्युनिस्ट शक्तिको खाँचो औँल्याएका छन् । नेवाः राष्ट्रिय संघको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेपालले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो शक्ति निर्माण गर्न विभिन्न दलसँग छलफल भइरहेको जानकारी दिए । 

‘वाम शक्तिलाई एकताबद्ध बनाउनुपर्छ । त्यसका लागि हामीले राजनीतिक पार्टीहरूसँगको संवाद अगाडि बढाएका छौँ । यदि, विचार, नीति मिल्छ भने पार्टी एकता हुन्छ । कुन पार्टीसँग एकता हुन सक्छ, ती पार्टीको खोजी गर्नेछौँ । कुन पार्टीसँग हाम्रो मोर्चा बन्न सक्छ, त्यसको पनि खोजी गर्नेछौँ । हामी अब निरन्तर संवादमा अगाडि बढ्नेछौँ,’ ओलीले भने । 

संवादका लागि एकीकृत समाजवादीको कार्यदलले जसपा कार्यदललाई पत्र पठाएको छ । दुवै दलका कार्यदलबीच छिट्टै छलफल हुने नेताहरूले बताएका छन् । माओवादीको कार्यदलसँग पनि छलफल हुनेछ । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकता वा मोर्चा भन्ने विषयमा केही दिनअघि छलफल भएको थियो । अब, कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार पारेर शीर्ष नेताबीच छलफल गर्ने रणनीति छ ।

जसपाका कार्यकारी अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष अशोक राई, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरीलगायत नेताहरूले एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग एक चरण संवाद गरिसकेका छन् । ‘विचारमा कति मिल्छौँ, मार्क्सवाद, लेनिनवाद, समाजवादप्रति हामी कति प्रतिबद्ध हुन्छौँ, यी सबै कुराको विचार–विमर्श गरेर खाका निर्माण गर्नेछौँ र सहमतिको निश्चित आधार तयार पार्नेछौँ,’ नेपालले भनेका छन् ।

बलियो शक्ति निर्माण गरेको अनुभव आफूहरूसँग रहेको नेपालले बताएका छन् । ‘हिजो पनि पुष्पलालले पाँचजनालाई लिएर पार्टी बनाउनुभएको थियो । ०३२ मा हामीले आठजनालाई लिएर को–अर्डिनेसन केन्द्र बनाएका थियौँ । आज त हामीसँग देशभर हजारौँ–हजार कार्यकर्ता छन् । सबै वर्गका जनताको माझमा हामी पुगेका छौँ । त्यो शक्तिलाई राम्ररी संगठित र परिचालित गर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाली राजनीतिमा नयाँ प्रकृतिको संगठन बनाउन सक्छौँ,’ नेपालले भने, ‘जनताको आकर्षकको केन्द्रका रूपमा यसलाई स्थापित गर्न सक्दछौँ ।’ 

जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा चेम्जोङ र चौधरी सदस्य रहेको कार्यदल गठन गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि पनि माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच समाजवादी केन्द्र निर्माण गर्नेबारे छलफल भएको थियो ।

बृहत् वाम एकताको पक्षमा एमाले पनि लचिलो भएको छ । तर, एमालेले एकताका लागि कार्यदल बनाएको छैन । उपाध्यक्ष सुवास नेम्वाङ मिलेर अगाडि बढ्नुपर्ने सन्देश नेपाली जनताले दिएको बताउँछन् । ‘नेपाली जनताको सन्देश मिलेर जानू भन्ने छ । जनताले कसैलाई निषेध नगर भनेका छन् । हामी मिलेरै अगाडि बढ्ने पक्षमा छौँ,’ कार्यदल नबनेपछि विभिन्न नेताहरूसँग विभिन्न चरणमा छलफल भइरहेको उनले बताए । विगतको अनुभवबाट पाठ सिक्दै कमजोरी नदोहोरिने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेता बृहत् वामपन्थी एकताको पक्षमा छन् । अध्यक्ष ओली पनि सकारात्मक रहेको नेताहरूले बताएका छन् । 

एमाले र माओवादी एकतापछि ३ जेठ ०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । केपी ओली र प्रचण्ड अध्यक्ष थिए भने नौ सदस्यीय सचिवालय बनाइएको थियो । झन्डै दुईतिहाइको संघीय सरकारसँगै ६ वटा प्रदेशका नेकपाको एकल बहुमतको सरकार थियो ।