१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १८ मंगलबार १५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न लागेपछि शुक्लाफाँटाका स्थानीय आन्दोलित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:५९:oo

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्य अघि बढाएपछि स्थानीय आन्दोलित भएका हुन्।

शुक्लाफाँटा नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० मा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको थियो। उत्खनन क्षेत्र शुक्लाफाँटा नगरपालिका– ८ का स्थानीयले त्यसविरुद्ध आन्दोलन सुरु गरेका हुन्। आन्दोलित स्थानीयले रुकुमसिंह ठगुन्नाको संयोजत्वकमा संघर्ष समिति बनाएका छन्।

नदीजन्य पदार्थ उत्खननपीडित संघर्ष समितिको अगुवाइमा आइतबारदेखि आन्दोलन सुरु गरिएको हो। उनीहरूले आइतबार ८ नम्बर वडा कार्यालय घेराउ गरेका छन्। नदीजन्य पदार्थ उत्खनन पीडित संघर्ष समितिका संयोजक ठगुन्नाले प्रभावित क्षेत्रका नागरिकले बसोवासको उचित व्यवस्थापन नगर्दै सुरु गरिएको उत्खनन कार्यविरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको बताए। ‘हामीले यो क्षेत्रमा वर्षौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ,’ उनले भने, ‘नगरपालिकाले अहिले एक्कासि उत्खनन गरिरहेको छ।’

संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टीबापत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। ‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधिविशेषविरुद्ध होइन,’ उनले भने, ‘समग्र गाउँबस्तीको विपत् जोखिम न्यूनीकरणका लागि हो।’ नगरपालिकाले सुनबरा, वनहरा अखौनीसहितका खोलाबाट ढुंगा, गिटी र वालुवाबापत रोयल्टी संकलनका लागि  गणपति कन्स्ट्रक्सन प्रालिलाई ६८ लाख १३ हजारमा ठेक्का दिएपछि स्थानीय आन्दोलित भएका हुन्। ‘आज हामीले वडामा आन्दोलन गर्‍याैँ, भोलि गर्दैनौँ,’ उनले भने, ‘यसबीचमा हाम्रो माग सम्बोधन नभए मंगलबारदेखि नगरपालिका केन्द्रित आन्दोलन गर्छौँ।’

नगरपालिकाले अघि सारेको नदीजन्य पदार्थ उत्खनन कार्यको केही राजनीतिक दल एवं पूर्व तथा हालकै जनप्रतिनिधिसमेत सन्तुष्ट छैनन्। शुक्लाफाँटा नगरका निवर्तमान प्रवक्ता जगतबहादुर सिंहले वडालाई अग्राधिकारसहित उत्खनन गर्नुपर्ने बताए। ‘नगरपालिकाले अघि बढाएको योजना ठीक छ। तर, स्थानीयको मूलभूत कटानीको समस्या पनि समाधान गर्नुपर्छ,’ सिंहले भने, ‘जनताको जाजय माग सम्बोधन गर्नुपर्छ।’ वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले स्थानीयले अघि सारेका माग नगरपालिकामा जानकारी गराउने बताए। 

शुक्लाफाँटा नगरका मेयर रणबहादुर महराले यसअघि उक्त खोलानालाबाट अवैध रूपमा उत्खनन भइरहेको बताउँदै यसपटक वैधानिक रूपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए। मेयर महराले स्थानीय जनताले अघि सारेका माग सम्बोधन गरिने बताए। ‘सो गाउँमा सडक, तटबन्ध विकासका लागि म प्रतिबद्ध छु,’ मेयर महराले भने, ‘अब ठेक्का लागिसक्यो, यसमा नगरवासीले पनि सहयोग गर्नुपर्‍याे, म जनताकै साथमा छु।’ तर, स्थानीयले भने माग सम्बोधन नभए एकमुठी मात्र ढुंगा–बालुवा पनि उठाउन नदिने चेतावनी दिएका छन्।

ad
ad