सन् २०२२ विश्वका लागि स्मरणीय वर्ष रह्यो । मुख्यतः वर्षभर नै युक्रेनमाथिको रुसी हमला चर्चाको विषय रह्यो । इलोन मस्क ट्विटरको ‘चिफ ट्विट’ भए । युद्धको मैदानमा युक्रेनको कडा प्रतिरोधका बाबजुद पुटिन युद्धमा दृढ देखिए । रुसको भयानक हमलाका बाबजुद युक्रेनले झुक्ने छनक देखाएन, बरु पश्चिमा मुलुकको सैन्य सहयोगमा रुसी हमलाको डटेर सामना गर्यो । बेलायतले आन्तरिक राजनीतिमा केही महिनाको अन्तरालमा तीन प्रधानमन्त्रीसँगै उथलपुथल साक्षात्कार गर्यो भने इरानले २२ वर्षीया युवती महसा अमिनीको मृत्युपछि अभूतपूर्व प्रदर्शन सामना गर्यो, जुन अहिले पनि जारी छ । त्यस्तै, छिमेकी भारतले पहिलो आदिवासी महिला राष्ट्रपति पायो । श्रीलंका पहिलोपटक ठूलो आर्थिक संकटबाट गुज्रियो ।
अर्कोतर्फ छिमेकी पाकिस्तानमा इमरान खान अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भए । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावमार्फत हटाइएको पाकिस्तानको इतिहासमै पहिलो रेकर्ड बन्यो । उता हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्डबीचको आरोप–प्रत्यारोप र मानहानिको मुद्दाले पनि निकै चर्चा पायो । सन् २०२२ मा समाचारको केन्द्र बनेका केही विषय :
भ्लोदोमिर जेलेन्स्की
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की रुसी आक्रमणविरुद्ध सशक्त रूपमा उभिएर बहादुरीपूर्वक आफ्नो देशबाट रुसी सेनालाई पछाडि हट्न बाध्य पारे । रुसले युक्रेनमा हमला सुरु गरेयता उनले प्रायः दिनहुँ रुसी ज्यादतीबारे सामाजिक सञ्जालमा ब्रिफिङ गर्दै आएका छन् । रुसी हमलाविरुद्ध ऐक्यबद्धता जारी गर्दै अन्तर्राष्ट्रिय समुदायले जेलेन्स्कीलाई ठूलो आर्थिक तथा सैन्य सहयोग प्रदान गरिरहेका छन् । युद्धपछिको पहिलो विदेश भ्रमणको क्रममा उनी वर्षको अन्ततिर अमेरिका पुगे, जहाँ उनले अमेरिकी संसद्लाई सम्बोधन गर्दै रुससामु कहिल्यै नझुक्ने उद्घोष गरेका थिए ।
भ्लादिमिर पुटिन
युक्रेनमाथि हमला गर्ने सुविचारित योजनाअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरी २४ बाट युक्रेनमा आक्रमण सुरु गरे । उनले सुरुमा युद्ध सजिलै जितिने अपेक्षा गरेका थिए । तर, युक्रेनी जनताको हिम्मत र विश्वव्यापी समर्थनले उनको आकलनलाई फेल गरिदियो ।
यो आक्रमणपश्चात् मस्को र पश्चिमबीचको संघर्ष बहुआयामिक बन्दै दोस्रो विश्वयुद्धपछिकै ठूलो टकराव सुरु भएको छ । युक्रेन हमलामा ठूलो क्षतिका बाबजुद रुसले युद्ध रोक्ने कुनै छनक देखिएको छैन । यद्यपि, युक्रेनी सेनाको कडा प्रतिकारपछि कब्जा गरिएका क्षेत्र भने रुसी सेनाले गुमाएको छ ।
सन् २०२२ मा छिमेकी भारतले पहिलो आदिवासी महिला राष्ट्रपति पायो । श्रीलंका पहिलोपटक ठूलो आर्थिक संकटबाट गुज्रियो । पाकिस्तानमा इमरान खान अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भए ।
इलोन मस्क
ट्विटरका नयाँ मालिक मस्क सन् २०२२ भर नै चर्चामा रहे । कर नतिरेको र कोभिड–१९लाई हल्का रूपमा लिएको भन्दै अर्बपति मस्कले वर्षको सुरुवातमा आलोचना खेपे । विद्युतीय सवारी निर्माता टेस्लाका सिइओसमेत रहेका मस्कले वर्षको उत्तराद्र्धमा ४४ अर्ब डलरमा ट्विटरको स्वामित्व खरिद गरेर आफूलाई ‘चिफ ट्विट’ भनेर नामकरण पनि गरे । ट्विटरको भेरिफिकेसन प्रक्रियामा व्यापक परिवर्तन गर्ने संकेत गरे ।
ट्विटरका आधा कर्मचारीलाई बर्खास्त गरे । वर्षको अन्त्यमा ट्विटर प्रयोगकर्ताले मस्कले ट्विटरको सिइओबाट हट्नुपर्ने पक्षमा मतदान गरेपछि उनी अहिले अन्योलमा छन् । मस्क वर्षभरि नै विवादित मात्र रहेनन्, उनलाई वर्ष व्यक्ति घोषित गर्ने टाइम म्यागेजिन पनि आलोचनामा तानियो । म्यागेजिनको छनोट अहिलेसम्मकै खराब भएको टिप्पणी भयो ।
ऋषि सुनक
बेलायतमा ऋषि सुनकले पहिलो अश्वेत प्रधानमन्त्री र भारतीय मूलका पहिलो नेताको रूपमा इतिहास रचे । उनी बेलायका ५७औँ प्रधानमन्त्री भए । संकटबीच पूर्वप्रधानमन्त्री लिज ट्रसले दुई महिना नपुग्दै पदबाट राजीनामा दिएपछि अक्टोबरमा सुनकले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । पार्टी नेताको दौडमा सुनकलाई हराएर बेलायतको प्रधानमन्त्री बनेकी ट्रस बेलायती इतिहासमा सबैभन्दा छोटो समय पदासीन प्रधानमन्त्री बनेकी थिइन् । बेलायतको राजनीतिमा निकै छिटो उदाएका सुनकले ३५ वर्षको उमेरमा सन् २०१५ मा पहिलोपटक संसद्को निर्वाचन जितेका थिए । भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसका सह–संस्थापक नारायण मूर्तिका ज्वाइँ सुनक बेलायतका शीर्ष धनाढ्यको सूचीभित्र पर्छन् ।
द्रौपदी मुर्मु
द्रौपदी मुर्मु भारतको राष्ट्रपति बन्ने पहिलो आदिवासी र दोस्रो महिला हुन् । उनको जन्म सन् १९५८ को जुन २० मा उडिसा राज्यको मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा भएको हो । यो भारतको सबैभन्दा पुरानो आदिवासी समुदाय हो । राजनीतिमा प्रवेश गर्नुअघि मुर्मु सन् १९७९ मा सिँचाइ विभागमा सरकारको सामान्य कर्मचारी थिइन् । सन् २०१५ मा सक्रिय राजनीति त्यागेर छिमेकी राज्य झारखण्डको पहिलो महिला राज्यपाल बनेकी थिइन् ।
जोनी डेप र एम्बर हर्ड
सन् २०२२ मा हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्डबीचको घरेलु दुर्व्यवहारको आरोप–प्रत्यारोपसहितको मानहानि मुद्दाले पनि निकै चर्चा पायो । जोनी र एम्बरबीच सन् २०१६ को मेमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि एम्बरले वासिंगटन पोस्टमा आफूमाथि घरेलु हिंसा भएको भन्दै अन्तर्वार्ता दिएकी थिइन् । उनले डेपलाई घरेलु दुर्व्यवहारको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व’ भनेर वर्णन गरेकी थिइन् ।
सन् २०१८ मा जोनीले आफ्नो मानहानि भएको भन्दै पूर्वपत्नीविरुद्ध पाँच करोड अमेरिकी डलरको मानहानि मुद्दा दायर गरेका थिए । त्यसको बदलामा हर्डले डेपका वकिल एडम वाल्डम्यानले बदनाम गरेको भन्दै अदालतमा १० करोड डलर क्षतिपूर्ति मागेकी थिइन् । एक अमेरिकी अदालतको जुरीले डेप र एम्बर हर्ड दुवैले एकअर्कालाई बदनाम गरेको ठहर गर्यो । तर पनि जुरी ‘पाइरेट्स अफ द क्यारिबियन’ डेपको पक्षमा उभियो ।
जुनको पहिलो साता भएको एक फैसलामा ५८ वर्षीय डेपले आफ्नी ३६ वर्षीया पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा जितेका थिए । डेपविरुद्ध हर्डले तीनवटा मुद्दा लगाएकी थिइन् । जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको थियो । त्यसमध्ये दुईवटामा अदालतले डेपलाई सफाइ दिएको थियो । तेस्रो मुद्दामा भने पूर्वपत्नीको मानहानि गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दियो । सेलेब टट्लरका अनुसार एम्बर हर्ड सन् २०२२ मा सबैभन्दा धेरै गुगल सर्च गरिएका महत्वपूर्ण व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा थिइन् । उनको नाम अमेरिकामा प्रतिमहिना औसतमा ५६ लाखपटक सर्च गरिएको थियो ।
महारानीको मृत्यु र बेलायतमा नयाँ राजा
सेप्टेम्बर ८ मा बेलायतकी सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधन भयो । उनका जेठा छोरा चार्ल्स तृतीय संयुक्त अधिराज्य र अन्य १४ क्षेत्रका राजा बने । ७३ वर्षीय चार्ल्स रानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपका जेठा छोराका रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी थिए । चार्ल्सले महारानी एलिजाबेथ द्वितीयको उत्तराधिकारी हुनका लागि लगभग आफ्नो सम्पूर्ण जीवन बिताउनुपर्यो । उनका हजुरबुबा राजा जर्ज छैटौँको ६ फेब्रुअरी १९५२ मा मृत्युपछि एलिजाबेथ महारानी बनेकी थिइन् भने चार्ल्स उनका उत्तराधिकारी बनेका थिए ।
महसा अमिनी
२२ वर्षीया इरानी युवती महसा अमिनीलाई सेप्टेम्बर १३ मा सार्वजनिक स्थलमा हिजाब नलगाएको आरोपमा तेहरानमा पक्राउ गरिएको थियो । उनी तीन दिन हिरासतमा रहिन् । सेप्टेम्बर १६ मा इरानी अधिकारीले उनको प्रहरी हिरासतमा हृदयाघातका कारण मृत्यु भएको बताएका थिए । उनलाई पुलिसले कुटपिट गरेपछि उनी कोमामा गएको प्रदर्शनकारीले दाबी गर्दै आएका छन् । उनको मृत्युले देशभर विरोध प्रदर्शनको उभार आयो । उनको मृत्युपछि जारी प्रदर्शन सन् १९९७ को इस्लामिक क्रान्तिपछिकै शक्तिशाली आन्दोलनका रूपमा देखापरेको छ । (एजेन्सीहरूको सहयोगमा )