१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Sunday, 11 May, 2025
पनौती नगरपरिसरमा माटो परीक्षण गर्दै प्राविधिक ।
२o७९ पौष १५ शुक्रबार १३:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पनौतीको ६१ प्रतिशत माटोमा अम्लीयपन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १३:४२:oo

काभ्रेको पनौती नगरपालिकाको ६१ प्रतिशत माटोमा अम्लीयपन रहेको पाइएको छ। पुस ११ देखि १४ गतेसम्म नगरपालिकाले गरेको निःशुल्क माटो परीक्षणका क्रममा यस्तो पाइएको हो।

माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेशको विज्ञसहितको प्राविधिक सहयोगमा नगरपालिकाले आयोजना गरेको निःशुल्क माटो परीक्षणमा ६१ प्रतिशत माटोमा अम्लीयपन फेला परेको नगरपालिकाका कृषि शाखा प्रमुख लीला सापकोटाले जानकारी दिए।

‘नगरपालिकाले चार सय ७१ नमुना माटो परीक्षण गरेकोमा ६१ प्रतिशतमा अम्लीयपन पाइएको छ,’ कृषि शाखा प्रमुख सापकोटाले भने, ‘रासायनिक मल प्रयोगले माटोमा अम्लीयपन बढेको हो।’ पनौती नगरपालिकाको सम्पूर्ण वडामा इच्छुक किसानबाट वडा–वडामा माटो संकलन गरी नगरपालिकामा ल्याएर परीक्षण गरिएको सापकोटाले बताए।

अम्लीयपन घटाउन किसानलाई निःशुल्क चुन वितरण
नगरपालिकाभित्रको ६१ प्रतिशत माटोमा अम्लीयपन पाइएपछि नगरपालिका र माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेशले किसानलाई चुन वितरण गरेको छ।

माटोको अम्लीयपन घटाउनका लागि किसानलाई चुन वितरण गरेको सापकोटाले जानकारी दिए। ‘नमुना माटो परीक्षण गर्दा पाएको अम्लीयपनको आधारमा किसानलाई निःशुल्क चुन वितरण गरेका छौँ,’ उनले भने, ‘माटोको अम्लीयपन घटाउन नगरपालिका र प्रयोगशालाको साझेदारीमा चुन वितरण गरेका हौँ।’

माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेशबाट २१ मेट्रिक टन र नगरपालिकाले नाै मेट्रिक टन चुन खरिद गरी किसानलाई निःशुल्क वितरण गरिरहेको छ। माटोमा अम्लीयपन बढी हुँदा बालीनाली उब्जनीमा कमी आउने उनले बताए।

केही वर्षदेखि पनौतीको माटो परीक्षण गरी चुन वितरण गर्दै आए पनि नगरपालिकाले चुन प्रयोगपछि कत्तिको सुधार आयो भनेर परीक्षण भने गरेको छैन। ‘नगरपालिकाले केही वर्षदेखि निःशुल्क माटो परीक्षण र निःशुल्क चुन वितरण गर्दै आएको छ,’ उनले भने, ‘अम्लीयपन भएको माटोमा चुन प्रयोग गरेपछि अम्लीय पन कति घट्यो भनेर पछि परीक्षण गरेका छैनौँ।’