यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजना भएको इन्फो डेभलपर्स आइसिटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिएको एनसेलले जनाएको छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ नगद प्रदान गरेको जनाइएको छ । कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकरदास बैरागी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्त रूपमा हस्तान्तरण गरेको एनसेलले उल्लेख गरेको छ ।
विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको जनाइएको छ । एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको जनाएको छ । गत वर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधानले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ पाएकी थिइन् ।
नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकी शिला कंसाकार कार्की नेपाल प्रहरीकी पूर्वडिआइजी रहेको एनसेलले जनाएको छ । सिस्टम एनालिस्टका रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा आरम्भ गरेकी कार्की आइसिटी क्षेत्रबाट डिआइजीसम्म पुग्ने पहिलो महिला रहेको जनाइएको छ ।