
हेल्थ टिप्स
स्वस्थ जीवनका लागि बिहानै हिँड्न जरुरी छ । तर, अहिलेको चिसो मौसममा सबेरै हिँड्नु स्वास्थ्यका लागि उल्टै हानिकारक पनि हुन सक्छ । बिहानको समय कुहिरो र हुस्सु धेरै हुन्छ । हुस्सुमा साना कण, कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड र नाइट्रोजनक अक्साइडजस्ता हानिकारक ग्यास हुन्छन् । जसले हावालाई प्रदूषित बनाइरहेका हुन्छन् । र, बिहानै हिँड्न निकँस्दा हाम्रो स्वास्थ्य बिग्रन सक्छ ।
जाडोको मौसममा तपाईं घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा जानुभयो भने बिरामी पर्न सक्नुहुन्छ । चिसो हावा र हावामा रहेका प्रदूषित कणले तपाईंलाई समस्या पार्छ । यसको असर सबैमा पर्ने भए पनि मुटु, श्वासप्रश्वास, दमका रोगी, बालबालिका र वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएकामा विशेष देखिन्छ ।
- त्यसैले घाम लागिसकेपछि मात्रै हिँड्न थाल्नुस् ।
- घाम लागेपछि मात्र घरबाट बाहिर निस्कनुस् । कुहिरो लागेको छ भने वाकमा ननिस्कनुस् । बिहानै निस्कँदा रक्तचाप बढ्ने, मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या
देखिन सक्छ । कतिपय पुराना रोग पनि बल्झन सक्छन् ।
- शरीरलाई पूरै ढाक्ने कपडा लगाउनुस् । कान ढाक्ने खालको टोपी लगाउनुस् । खुट्टामा जुत्ता र बाक्लो मोजा लगाउनुस् ।
- साना बच्चालाई आफूसँग मर्निङवाकमा नलैजानुस् । बच्चाहरू खेल्ने, कुद्ने गरिरहने हुनाले उनीहरूलाई मर्निङवाक आवश्यक नरहेको विभिन्न अध्ययनले देखाएको छ ।
- हृदयरोग, दमका रोगी, उच्च रक्तचाप र अन्य रोग भएकाहरूले वाक सुरु गर्नुभन्दा पहिले डाक्टरसँग परामर्श गर्नुस् ।
- यदि पहिलोपटक वाकमा जाँदै हुनुहुन्छ भने २० देखि ३० मिनेटको समय नै पर्याप्त हुन्छ । एकैचोटि भन्दा पनि बिस्तारै बानी पर्दै गएपछि समय बढाउँदै लग्नुस् ।
- शरीरको तापक्रमलाई नर्मल राख्नका लागि धेरै पानी पिउनुपर्छ, त्यसैकारण वाकमा निस्कनुभन्दा पहिले र वाकबाट फर्केपछि कम्तीमा एक–एक गिलास पानी पिउनुस् । तर, चिसो पानी नपिउनुस् । मनतातो पानी पिउनुस् ।
- प्रदूषित स्थानमा नहिँड्नुस् । भिडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुवाँ नउड्ने शान्त र हरियालीयुक्त बाटो चयन गरेर हिँड्नुपर्छ ।