मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Thursday, 19 December, 2024
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार शीतलनिवासमा शपथ लिँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
अनिल यादव काठमाडाैं
२o७९ पौष ७ बिहीबार o७:३८:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नवनिर्वाचित सांसदको शपथ आज

Read Time : > 4 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार o७:३८:oo

ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट ८१ वर्षीय राणाले लिए शपथ, मातृभाषामा पनि शपथग्रहण गर्न पाउने व्यवस्था 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् । बुधबार दिउँसो शीतलनिवासमा शपथ लिएका ८१ वर्षीय जबराले बिहीबार अन्य सांसदलाई शपथ खुवाउने कार्यक्रम छ । 

प्रतिनिधिसभाका सभामुख र उपसभामुख नभएको अवस्थामा सबैभन्दा ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने संवैधानिक व्यवस्था छ । जबराले अन्य सांसदलाई दिउँसो १ बजे संघीय संसद् भवनमा शपथ खुवाउने कार्यक्रम तय भएको छ । 

रोजनाथ पाण्डे प्रवक्ता, संसद् सचिवालय
बिहीबार बिहान ११ देखि १ बजेका बीचमा नवनिर्वाचित सांसदहरूको डकुमेन्ट भेरिफिकेसन र लोगो वितरण गर्ने कार्य छ । कोही सांसद मातृभाषामा शपथग्रहण गर्न इच्छुक भए उहाँहरूलाई ११ बजेसम्म आफ्नो भाषामा उल्था गरिएको शपथको कपी उपलब्ध गराउन भनेका छौँ । तोकिएको समयभित्र आए त्यसलाई पनि हामीले शपथमा समावेश गर्नेछौँ ।

नागरिकताअनुसार संसद्मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सबैभन्दा जेठा अर्थात् ८५ वर्षका छन् । तर, उनले नै आफू ६८ वर्षको मात्रै भएको भन्दै ज्येष्ठ सदस्य मान्न अस्वीकार गरेपछि सो जिम्मेवारी जबराले पाएका हुन् । नागरिकताअनुसार जबरा २४ मंसिर १९९८ मा जन्मिएका हुन् । 

यादवले अस्वीकार गरेपछि ज्येष्ठ सदस्यका रूपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि चर्चा भएको थियो । तर, संसद् सचिवालयले दुवैको नागरिकता जुधाउने क्रममा केसीभन्दा जबरा करिब दुई महिनाले जेठो पाएपछि उनैलाई ज्येष्ठ सदस्य मानेको हो । केसीले भने विद्यालय पढ्ने वेला शिक्षकहरूले आफ्नो उमेर एक वर्ष घटाइदिएकाले नागरिकतामा पनि सोहीअनुसार राखेको बताएका छन् । 

संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव रोजनाथ पाण्डेले इच्छुक सांसदका लागि मातृभाषामा पनि शपथ खान छुट गरिएको बताए । तर, उनीहरूले त्यसबारे पूर्वसूचना भने दिनुपर्नेछ । ‘कोही सांसद मातृभाषामा शपथग्रहण गर्न इच्छुक भए उहाँहरूलाई ११ बजेसम्म आफ्नो भाषामा उल्था गरिएको शपथको कपी उपलब्ध गराउन भनेका छौँ । तोकिएको समयभित्र आए त्यसलाई पनि हामीले शपथमा समावेश गर्नेछौँ,’ उनले भने ।

प्रवक्ता पाण्डेका अनुसार ज्येष्ठ सदस्य जबराले शपथग्रहणलाई कसरी व्यवस्थित गर्न सकिन्न भन्ने विषयमा छलफल गर्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा सबै दलका एक–एकजना प्रतिनिधिसहित पाँच निर्वाचित स्वतन्त्र सांसदलाई निम्ता गरिएको उनले बताए । ‘११ बजेदेखि १ बजेका बीचमा नवनिर्वाचित सांसदहरूको डकुमेन्ट भेरिफिकेसन र लोगो वितरण गर्ने कार्य पनि छ,’ पाण्डेले भने । शपथग्रहणपछि संसदीय गतिविधि औपचारिक रूपमा अघि बढ्छ । राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको १५ दिनभित्र सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नेपालीबाहेकका भाषामा शपथ लिन चाहनेका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । एमालेका राज अहमद फारुकीले उर्दू, माओवादीका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङले तामाङ, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले हिन्दी र उमरावतीदेवी यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् ।

स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले नेपाली र मुस्लिम भाषा, रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनीष झाले मैथिली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिन निवेदन दिएका छन् । राप्रपाका अशोककुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारू तथा स्वतन्त्र सांसद लालवीर चौधरीले थारू भाषामा शपथ लिनेछन् । जनमत पार्टीका सोनु मुर्मु सन्थाली, जनमत पार्टीकै चन्द्रकान्त राउत, बिनिताकुमारी सिंह र अनिता देवीले मधेसी भाषामा शपथ लिने बताएका छन् । 

फौजदारी र भ्रष्टाचार अभियोग लागेका दुई सांसदको शपथ के हुन्छ ? 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा स्पष्ट भनिएको छ, ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा १० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति प्रतिनिधिसभाको उम्मेदवार बन्न पाउनेछैन ।’ त्यस्ता व्यक्तिहरू निर्वाचित भएको अवस्थामा पनि पदीय हैसियतले शपथ खान नसक्ने कानुनविद्हरू बताउँछन् । यसपटकको प्रतिनिधिसभामा पनि दुई सांसद गम्भीर अभियोग खेपिरहेका छन् । 

महोत्तरी १ बाट निर्वाचित एमालेका लक्ष्मी महतो कोइरी हत्या अभियोगमा फरार छन् भने मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङ ३१ करोडको भ्रष्टाचार अभियोग खेपिरहेका छन् । तर, यसबारे संसद् सचिवालय अनभिज्ञ देखियो । बिहीबार हुने शपथग्रहणमा उनीहरू आउने–नआउने जिज्ञासामा संसद् सचिवालयका प्रवक्ता पाण्डेले अहिलेसम्म कुनै पनि सांसद्बारे त्यस्तो लिखित उजुरी या जानकारी नआएको बताए । 

‘हामीले सबै सांसदलाई शपथग्रहणका लागि सार्वजनिक रूपमा आह्वान गरेका छौँ । भोलि ११ बजेसम्म को आउने, को नआउने थाहा हुन्छ । ११ बजेसम्मको अवधिमा कुनै सांसदमाथि गम्भीर अभियोग लागेको विषयमा औपचारिक जानकारी आयो भने पक्कै छानबिन हुन्छ, अहिले नै केही भन्न सकिँदैन,’ उनले भने ।

शीतलनिवासमा ओली, प्रचण्ड र खनालको दोहोरो संवाद 

नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनाल पहिलोपटक एकैठाउँमा भेट भएका छन् । उनीहरूबीच दोहोरो संवादसमेत भएको छ । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन नेताबीच भेट भएको हो ।

हालै सम्पन्न निर्वाचनपछि ओलीले पहिलोपटक प्रचण्डलाई टेलिफोन गरेर बधाई साटासाट गरेको खबर बाहिरिएको थियो । त्यसक्रममा ओलीले प्रचण्डलाई ‘विगतको समीक्षा गर्दै अब मिलेर अघि बढ्नुपर्ने’ प्रस्ताव गरेको चर्चा थियो ।

बुधबारको समारोहमा ओली र प्रचण्ड तथा ओली र खनाल एक–अर्कातिर ढल्किएरै चासोसाथ भलाकुसारी गरेका देखिन्थे । एकै लहरमा ओली र खनालको बीचमा प्रचण्ड थिए । सत्तासमीकरणको बहस चलिरहेका वेला तीन कम्युनिस्ट नेताबीचको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

रवि लामिछानेलाई शपथ लिन बाटो खुल्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा शपथग्रहण गर्न बाटो खुलेको छ ।

लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरी लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गरेका थिए ।

साथै उनीहरूले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिन रोक्ने आदेश माग गरेका थिए । तर, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले आज अन्तरिम आदेश अस्वीकार गरेको हो । संवैधानिक इजलासले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ । 

सांसदको अयोग्यतासम्बन्धी अन्य रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले पुनः मतगणना तथा पुनः मतदानका माग रहेका एक दर्जन रिटउपर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनीहरूले सांसद पदको शपथ लिने बाटो खुलेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा धाँधली भएको र विजेता सांसद पदका लागि अयोग्य रहेको भन्दै परेका रिटमध्ये बुधबार १५ वटाको प्रारम्भिक सुनुवाइ भयो । जसमध्ये १२ सांसदहरू विपक्षी बनाइएको छ । यी कुनै पनि रिटमा बुधबार अन्तरिम आदेश जारी भएको छैन । कारण देखाऊ आदेश मात्र जारी भएकाले सबैले शपथग्रहण गर्न बाटो खुलेको छ । महेन्द्र यादव, झलनाथ खनाल, लालबहादुर थापा, कर्णबहादुर थापा, बलदेव रेग्मीलगायतले पुनः मतगणनाको मागसहित रिट दायर गरेका छन् ।