१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बिहीबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह, सहरी विकासमन्त्री मेटमणि चौधरी, उपप्रमुख सुनीता डंगोललगायत । तस्बिर : अमुल थापा/नयाँ पत्रिका 
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १ शुक्रबार ०८:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२८औँ महानगर दिवस : न कार्यप्रगति विवरण प्रस्तुत न त भविष्यका योजनाबारे चर्चा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १ शुक्रबार ०८:०४:००

काठमाडौं महानगरपालिकाले २८औँ महानगरपालिका दिवस मनाएको छ । वसन्तपुरस्थित हनुमान ढोकामा बिहीबार विशेष कार्यक्रम आयोजना गरी महानगरपालिकाले महानगर दिवस मनाएको हो ।  

काठमाडौं महानगरपालिकाले यस वर्षको महानगर दिवसलाई भव्य रूपमा मनाएको दाबी गरे पनि कार्यक्रममा कार्यप्रगति विवरणसमेत पेस भने गरिएको थिएन । कार्यक्रमलाई कतिपयले ‘झाराटारी महानगर दिवस’ भन्दै टिप्पणीसमेत गरेका छन् । 

हरेक महानगर दिवसमा महानगरमा साउनयता भएका कार्यप्रगति विवरण पेस गर्नुपर्ने नियम छ । तर, महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आफूले ६ महिनामा गरेका कामसमेत सार्वजनिक गरेनन् । यसपटकको दिवस पनि विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै मनाइएको सहभागीहरूले बताएका छन् । 

महानगर प्रमुख साहले निर्वाचित भएलगत्तै आफ्ना हरेक कामको विवरण पेस गर्ने बताउँदै आएका थिए । तर, महानगर दिवसका अवसरमा पेस गर्नुपर्ने प्रगति विवरणसमेत हिउँदे अधिवेशनमा पेस गर्ने भन्दै पन्छिएका छन् । ‘कार्यप्रगति विवरण पेस गर्ने योजना त थियो, तर तयारी नपुगेकाले पेस गर्न सकिएन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘यद्यपि, यसपटक गत वर्षहरूमा भन्दा फरक तरिकाले महानगर दिवस सप्ताहव्यापी रूपमा मनाइयो ।’ उनका अनुसार यसपटक महानगर दिवसमा बागमती र विष्णुमती सरसफाइ, बाजागाजा बजाउने प्रतिस्पर्धा, विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, वाकाथन प्रतियोगिता पनि आयोजना गरिएको छ । साथै, महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षक सम्मान, सञ्चारकर्मी सम्मान, जनप्रतिनिधि सम्मानलगायत कार्यक्रमसमेत आयोजना गरिएको छ । 

सुकुमबासी समस्या समाधान सबै मिलेर गरौँ : मन्त्री चौधरी
कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले उपत्यकाको सुकुमबासी समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । उनले उपत्यकाका विभिन्न नदी–किनारमा बढ्दै गएको बसोवासलाई व्यवस्थापन गर्न आवश्यक रहेको जोड दिँदै यसबारे सरोकारवाला निकायहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘उपत्यकाका नदी–किनारमा बढ्दै गएको बसोवासलाई व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न जरुरी छ ।’ 

उपत्यकामा मेट्रो रेल अपरिहार्य छ : चिरिबाबु महर्जन
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो रेल चल्नुपर्ने धारणा राखे । उनले उपत्यकाका सबै जिल्ला समेट्ने गरी मेट्रो चलाउनु र यसका लागि गृहकार्य सुरु गर्न जोड दिए । यसअघि महर्जनले ०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरमा मेट्रो रेल सञ्चालन गर्ने एजेन्डा अघि सारे पनि उक्त एजेन्डा घोषणामै सीमित भएको बताए । उनले ललितपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइकल लेन बनाएको भन्दै लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्न प्रस्ताव गरे । ‘काठमाडौं महानगरपालिकालगायत काठमाडौं उपत्यकाभित्र ५० लाख जनसंख्या छ, ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ,’ उनले भने, ‘तसर्थ, अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अनिवार्य भइसकेको छ ।’ प्रमुख महर्जनले सार्वजनिक खरिद ऐन, ०६३ विकास निर्माणका काममा धेरै बाधा भएकाले आमुल सुधार गर्नुपर्ने बताए । 

उपत्यकालाई सांस्कृतिक सहर बनाउँछु : साह 
महानगर प्रमुख साहले महानगरलाई सांस्कृतिक सहर बनाउने सपना जसरी पनि पूरा गरेरै छाड्ने बताएका छन् । कार्यक्रममा प्रमुख साहले महानगरलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने घोषणा गरेका हुन् । उनले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पनि पुनर्जागरण गर्न लागेको बताए । यहाँका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताउँदै उपत्यकाको मौलिक सभ्यता र सम्पदालाई पुनः जागृत गराउन लागिपर्ने बताए । ‘संस्कृतिहरू जगेर्ना गर्ने हो भने नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ,’ उनले भने, ‘यहाँका मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्छ ।’ प्रमुख साहले काठमाडौं महानगरपालिकाका काम–कारबाहीलाई डिजिटलाइज गर्ने काम सुरु भइसकेको पनि बताए ।