कुनै स्थानमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो भने आँखा पनि एउटै मात्र थियो । तर, राजा निकै बुद्धिमान् र प्रतापी भएकाले राज्यका सबै जनता खुसी र सुखी थिए । उनीहरूको कुनै गुनासो थिएन । एक दिन राजाले चित्रकारलाई बोलाएर आफ्नो सुन्दर तस्बिर बनाउन लगाउने विचार गरे । उनले देशभरका सबै उम्दा चित्रकारलाई निम्तो दिए । राजाको निम्तो पाएपछि चित्रकार दरबारमा भेला भए । सबैको उपस्थितिपछि राजाले तिनलाई सम्बोधन गर्दै भने— प्रिय चित्रकार बन्धुहरू हो ! म आफ्नो एउटा सुन्दर चित्र बनाएर दरबारमा सजाउन चाहन्छु । त्यसैले, मेरो एउटा चित्र तयार गरिदिनुहुन म तपाईंहरूलाई विशेष अनुरोध गर्दछु ।
राजाको आग्रह सुनिसकेपछि सबै चित्रकार चिन्तामा परे । एक आँखा र एउटा खुट्टा भएका राजाको सुन्दर चित्र कसरी बनाउनु ? उनीहरू बडो द्विविधामा परे । चित्र नबनाऊँ भने राजाले अनुरोध गरेका छन् । बनाऊँ भने कुरूप राजाको चित्र सुन्दर बन्दै बन्दैन । यस्तै–यस्तै सोचेर उनीहरूले राजाको चित्र नबनाउने निधो गरेर र राजासित माफी मागे ।
यसैबीच पछाडिबाट एकजना युवा चित्रकारले हात उठाए र भने— महाराज ! म बनाउँछु हजुरको चित्र । चित्रकारको कुरा सुनेर राजा खुसी भए । चित्रकार चित्र बनाउने कार्यमा जुटे । केही घन्टाको मिहिनेतपछि चित्रकारले चित्र पूरा गरे । उनले आफूले बनाएको चित्र राजालाई देखाए । चित्र देख्दा राजा निकै खुसी भए । उनले चित्रकारलाई प्रशस्त धनदौलतले सम्मानित गरे ।
चित्रकारले चित्रमा एउटा खुट्टा खुम्च्याएर भुइँमा बसेका राजाले एउटा आँखा चिम्लिएर सिकारतिर लक्ष्य साधना गरिरहेको देखाएका थिए । उनले बडो चलाखीपूर्वक राजाको शारीरिक कमजोरीलाई लुकाइदिएका थिए । चित्र देखिसकेपछि बाँकी चित्रकारले अरूको कमजोरी उधिनेर बाहिर ल्याउनुभन्दा पनि त्यसलाई लुकाएर उसको क्षमता, प्रतिभा र ज्ञानमाथि विश्वास गर्नुपर्ने कुरा बुझे ।