मोबिलको अवस्था : लामो यात्रामा जानुअघि तपाईंले नजिकैको वर्कसपमा गएर बाइकको कन्डिसन चेकजाँच गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण मोबिलको चेकजाँच हो । मोबिलले इन्जिनलाई फ्री घुमाउँछ । पर्याप्त मोबिल भएन भने इन्जिन सिज हुन सक्छ । त्यसैले आफू कति किलोमिटर टाढा जाने हो भन्ने यकिन गरेर मोबिलको अवस्था जाँच गर्नुस् ।
टायर चेक गर्नुस् : ट्युबलेस टायरमा लिक्विड कम छ भने लिक्विड हाल्नुस् । त्यस्तै, टायरमा किला भए–नभएको चेक गर्नुपर्छ । पन्चर टाल्नु छ भने टाल्नुस् । ताकि, बाटोमा धोका नहोस् ।
पेट्रोल : तपाईंको बाइकमा कति पेट्रोल छ ? ट्यांकी कति लिटरको छ ? कति माइलेज दिन्छ ? यी कुरामा ध्यान दिनुस् । सकभर लामो दूरीमा यात्रा गर्दा ट्यांकी फुल गरेर जानुस्, किनकि बाटोमा पेट्रोलपम्प नहुन सक्छ । त्यस्तै, चेनको अवस्था पनि हेर्नुस् ।
ब्रेक : ब्रेकको अवस्था चेक गराउनुपर्छ । तपाईंले सर्भिसिङमा दिएपछि यसलाई बनाउने काम वर्कसपले गर्छ । त्यस्तै, एयर फिल्टर पनि चेक गर्नुपर्छ । एयर फिल्टर फोहोर भयो भने एक लिटरमा पुग्ने ठाउँमा डेढ लिटर पेट्रोल लाग्न सक्छ ।
सडकको अवस्था : सडकको अवस्थाका विषयमा पहिल्यै जानकारी राख्नुस् । सडक राम्रो छ भने स्कुटरमा पनि जान सकिन्छ । अफ रोडमा जानका लागि स्कुटर भने उपयुक्त हुँदैन । ग्राभेल र अफ रोड बाटोका लागि बाइक नै उपयुक्त हुन्छ ।
चेस्टगार्ड बोक्न नभुल्नुस् : बाइकमा लामो यात्रा गर्दा हावाले हान्छ । त्यसैले चेस्टगार्ड बोक्न नभुल्नुस् । अन्यथा, चिसो लागेर विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ ।
चार्जर राख्नुस् : मोटरसाइकलमा चार्जिङ युनिट राख्नुभयो भने तपाईंलाई मोबाइल चार्ज गर्न सहयोग पुग्नेछ । तपाईंले आफूसँग पावर बैंक पनि राख्न सक्नुहुनेछ ।