अस्पताल र मेडिकल शिक्षा पठनपाठन नभएकाले तत्काल विश्वविद्यालय चलाउन कठिन हुने स्वास्थ्यमन्त्रीको भनाइ
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल चलाउन कठिन हुने बताएका छन् । अस्पताल र मेडिकल शिक्षाको पढाइ पनि सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न धेरै गाह्रो हुने उनको भनाइ छ ।
प्रदीप पौडेल, स्वास्थ्यमन्त्री
कानुनी प्रक्रिया मात्र पूरा भएर विश्वविद्यालय सञ्चालन हुँदैन । सँगसँगै त्यसअनुसारको स्रोत, फ्याकल्टीहरू, डिपार्टहरू र अरू पूर्वाधार बनेको हुनुपर्छ । त्यसैले विश्वविद्यालय बनाउने प्रक्रिया पनि अगाडि बढाउने, अहिले अस्पताल सञ्चालन गर्ने, एमबिबिएस सञ्चालन गर्ने हो ।
मंगलबार गेटामा मेडिकल कलेजका लागि निर्मित संरचनाको निरीक्षणपछि उनले मेडिकल विश्वविद्यालय विधेयक पारित हुँदैमा विश्वविद्यालय बन्न नसक्ने बताएका हुन् । अस्पताल सञ्चाल नभएको, एमबिबिएसलगायत मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन भएको ठाउँमा विश्वविद्यालय स्थापना गर्न सहज हुने उनले बताए । ‘कानुनी प्रक्रिया मात्र पूरा भएर विश्वविद्यालय सञ्चालन हुँदैन । सँगसँगै त्यसअनुसारको स्रोत, फ्याकल्टीहरू, डिपार्टहरू र अरू पूर्वाधार बनेको हुनुपर्छ,’ उनले भने, ‘त्यसैले विश्वविद्यालय बनाउने प्रक्रिया पनि अगाडि बढाउने, अहिले अस्पताल सञ्चालन गर्ने, एमबिबिएस सञ्चालन गर्ने हो ।’
गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया निरन्तर अगाडि बढाएर अहिले अस्पतालको सेवा विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । राज्यको सात अर्ब लगानीमा बनेका पूर्वाधार प्रयोगमा नआएको भन्दै उनले अहिले सञ्चालन भइरहेको ५० शय्याको अस्पताललाई आगामी असारसम्म सय शय्यामा स्तरोन्नति गरिने प्रतिबद्धता जनाए । ‘पछिल्लो २० वर्षमा यति धेरै पूर्वाधार कि गेटामा बनेको छ कि सिंहदरबारमा । सिंहदरबारसरह प्राथमिकतामा राखेर यत्रो धेरै पूर्वाधार राज्यले बनाएको छ । आठ अर्बको लगानीमा बनेको यो पूर्वाधार प्रयोगमा आएको छैन,’ उनले भने, ‘यो पूर्वाधार सम्पूर्ण रूपमा प्रयोगमा ल्याउन तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ । त्यसपछि ओएनएम गरेर जनशक्ति व्यवस्थापन गर्नुपर्छ ।’
अहिले शिक्षा मन्त्रालयअन्तर्गत रहेका यी संरचना स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिनुपर्ने मन्त्री पौडेलले बताए । यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन भएर पछि विश्वविद्यालय बन्ने अवस्थामा संरचना पुनः शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न सकिने उनको भनाइ थियो । उनले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताए । त्यसका लागि संगठन तथा व्यवस्थापन सर्भे गरिने तथा आगामी असारसम्म सय शय्याको अस्पताल सञ्चालन गरिने उनको भनाइ थियो ।
६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि निर्मित संरचनामा हाल ५० शय्याको मात्र अस्पताल सञ्चालनमा छ । गेटामा सेवा विस्तारका लागि तत्काल १०–१२ जना स्कलरसिप डाक्टर पठाउने प्रतिबद्धता पनि उनले जनाए । चिकित्सा शिक्षा सुरु गर्न तीन सय शय्याको अस्पताल सञ्चालन भएको हुनुपर्ने भए पनि सुदूरपश्चिममा एउटा मेडिकल कलेज नभएको अवस्थामा चिकित्सा शिक्षा आयोगको निर्णयमार्फत तीन सय शय्याको अस्पतालविना मेडिकल शिक्षा सुरु गर्न आफू प्रयासरत रहेको मन्त्री पौडेलको भनाइ थियो ।