मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबरासहित संसद् सचिवालय र महासचिवको रिट संवैधानिक इजलासले हेर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार १०:५३:००

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुने भएको छ । निलम्बित प्रधानन्यायाधीश  जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासले हेर्ने भएको हाे । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो । 

संसद्का महासचिव गौतमले जबराको निवेदनका आधारमा तजबिजी निर्णय लिँदै महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्चलगायत निकायमा पठाएपछि सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूसहित नौजनाले बुधबार संयुक्त रिट दर्ता गराएका थिए । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले उक्त कार्य गैरकानुनी रहेको दाबी गरिएको छ । साथै निवेदकले प्रधानन्यायाधीशलाई सर्वोच्चमा हाजिर गर्न नदिनसमेत आदेशको माग गरेका छन् । त्यस्तै, महासचिवको कदम बदर गर्दै महाभियोग प्रस्ताव नयाँ प्रतिनिधिसभाले ग्रहण गर्नुपर्ने दाबी पनि गरेका छन् ।

प्रधानन्यायाधीश जबरा संसद् सचिवालय र संसद् सचिवालयका महासचिवविरुद्ध परेको रिटमा कायममुकायम प्रधानान्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद  श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, श्री आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाले सुनुवाइ गर्नेछन् ।