
एमालेमा अन्तर्घातको आरोप लागेका बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले आफूलाई पूर्वाग्रह राखेर कारबाही गरिएको दाबी गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई विनाआधार पूर्वाग्रहको आधारमा कारबाही सिफारिस गरिएको गुनासो गरेका हुन् ।
उनले आरोप पुष्टि गर्न चुनौतीसमेत दिए । ‘मेरो गाउँपालिका पञ्चेश्वरबाटै प्रदेश सभामा पराजित पार्टीका उम्मेदवार लीलाधर भट्टलाई धेरै भोट आएको छ । ममाथि पूर्वाग्रह राखेर अन्तर्घातको आरोप लगाएर कारबाही गरियो,’ उनले भने, ‘पार्टी बनाउन यत्रो योगदान गरेको छु, कसरी पार्टीलाई घात गर्नुसक्छु ? पुष्टि हुने प्रमाण देखाउन चुनौती दिन्छु । होइन भने कानुनी उपचार खोज्न बाध्य हुनेछु ।’
प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमाले बैतडी जिल्ला कमिटी बैठकले चन्दलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको कारबाहीका लागि प्रदेशमा सिफारिस गरेको थियो । उनीमाथि बैतडी प्रदेश सभा (२) तर्फका उम्मेदवार भट्टलाई पराजित गर्न भूमिका खेलेको आरोप छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र पालका अनुसार चन्दले अन्तर्घात गरिएको पाइएपछि कारबाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको हो । चन्द एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् । चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरेको बैतडी एमालेले जानकारी दिएको छ।