मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Thursday, 19 December, 2024
भोजराज भण्डारी काठमाडाैं
२o७९ मङ्सिर २२ बिहीबार o६:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई आलु र दूध उत्पादनमा घाटा

सहरनजिकको तुलनामा गाउँका किसान ७० प्रतिशतसम्म नोक्सान व्यहोर्न बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार o६:२o:oo

बागमती प्रदेशका किसानलाई दूध र आलु उत्पादनबाट नोक्सानी हुने गरेको पाइएको छ । कृषि तथा खाद्य संगठन (एफएओ) र कलेज अफ फुड एन्ड डेरी टेक्नोलोजी (क्याफोड्याट)ले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । दुई संस्थाले पाँच महिना लगाएर गरेको संयुक्त अध्ययनले बागमतीमा आलुखेती गर्ने किसान र  दूध उत्पादन, डेरीको अवस्था र लागतको विषयमा किसानहरूसँग प्रश्न गरेको थियो ।

संस्थाले सबैभन्दा धेरै आलु उत्पादन हुने क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तीनवटा गाउँ र मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा सर्भे गरेको थियो । त्यसैगरी, सबैभन्दा बढी दूध उत्पादन हुने जिल्ला काभ्रेको बनेपा, धुलिखेल, पाँचखालमा र चितवन महानगरपालिकामा सर्भे गरेको थियो । 

सर्वेक्षणमा जुगल गाउँपालिका र मकवानपुर जिल्लामा फरक–फरक समस्या पाइएको कलेज अफ फुड एन्ड डेरी टेक्नोलोजीका सहप्राध्यापक मनबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहरीनिकट र सवारीसाधनको पहुँचभन्दा टाढाको क्षेत्रमा किसानले गर्ने खेती, उत्पादन र लागतलाई प्राथमिकतामा राखिएको छ ।

सवारीसाधनको पहुँचभन्दा टाढा रहेको क्षेत्रमा प्रविधिको उचित प्रयोग नभएका, रोपाइँदेखि आलु हार्बेस्टिङ गर्दासम्म र आलुमा लाग्ने किराका कारण धेरै क्षति व्यर्होनुपरेको सर्भेले देखाएको छ । त्यसैगरी, मकवानपुरको थाहा नगरपालिका पालुङमा ड्याममा लगाइने र बोट मर्नुभन्दा अघि नै आलु निकालिने हुँदा कम नोक्सानी देखाएको छ । 

कृषि तथा खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठका अनुसार थाहा नगरपालिकाको तुलनामा जुगलका आलु किसानले ७० प्रतिशतसम्म नोक्सान व्यहोर्नुपरेको छ । श्रेष्ठले भने, ‘सहरी क्षेत्रका किसान प्रविधिको बढ्दो प्रयोगको कारणले पनि कम नोक्सानी देखियो ।’ 

 दूध र डेरी क्षेत्रमा मूल्य र गुणस्तर फितलो
त्यसैगरी, दुई संगठनले काभ्रे र चितवनको दूध, डेरीको व्यवस्थापन र मूल्यमा सर्भे गरेको थियो । काभ्रेको तुलनामा चितवनमा धेरै सकारात्मक पाइएको सर्भेले देखाएको छ । काभ्रेका किसानले दूधमा १० रुपैयाँ नाफा पाउँदा, चितवतका किसानले २० रुपैयाँसम्म नाफा लिन सक्ने सर्भेले देखाएको छ ।

त्यस्तैगरी, डेरीको व्यवस्थापन दूधको गुणस्तर र किसानले पाउने मूल्यमा पनि ठूलो अन्तर नदेखिएको छ । सहप्राध्यापक श्रेष्ठले भने, ‘आलुको तुलनामा दूधमा धेरै नोक्सान किसानलाई छैन, मात्र हामीमा प्रविधिको विकास सँगसँगै लैजान ढिलो भइरहेको हामीले पायौँ ।’

सर्भेले दूधमा भने गुणस्तरमा बढी नोक्सान देखाएको छ । सर्भेमा ७७ जना किसान, सातवटा संकलन केन्द्र र तीनवटा दूध उद्योगको प्रयोग गरिएको थियो । खाद्यविज्ञ आलोक श्रेष्ठका अनुसार किसानको गोठदेखि उपभोक्तासम्म आइपुग्दा गुणस्तरमा ह्रास हुँदै गरेको देखाएको छ ।