मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार ११:०७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मेसीको प्रेरणामा अर्जेन्टिना अन्तिम आठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार ११:०७:००

लियोनल मेसी प्रेरित अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप २०२२ मा अन्तिम आठमा स्थान पक्का गरेको छ । जारी विश्वकपमा अर्जेन्टिनाको यो चौथो खेल हो र तेस्रो जित । 

लगातार ३६ खेलमा अविजित रहँदै विश्वकप यात्रामा सहभागी अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग अप्रत्याशित हार व्यहोरेको थियो । सो खेलमा हारपछि समूह चरणबाटै बाहिरिने खतरामा रहेको अर्जेन्टिनालाई प्रिक्वार्टरफाइनलमा पुर्‍याउन मेसीले प्रेरणादायी खेल खेलेका थिए । 

मेक्सिकोसँगको दोस्रो र  पोल्यान्डसँगको तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मेसी निर्णायक देखिए । यी दुवै खेलमा मेसी प्लेयर अफ दी म्याच भएका थिए । तेस्रो खेलमा पोल्यान्डसँग पेनाल्टीमा चुके पनि खेलमा मेसीले पटकपटक टिमलाई भर दिए । 

गएराति सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा पनि मेसी पुनः निर्णायक बने । उनकै गोलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई हरायो । 

अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई २–१ को जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन आल्भारेजले एक–एक गोल गरेका थिए । यता अस्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए । 

मेसीले खेलको ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।  अर्जेन्टिनाका लागि खेलको ५७औँ मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेकको ७७औँ मिनेटमा अस्ट्रेलियाले आत्मघाती गोल उपहार पाए पनि खेलमा जित निकाल्न सकेन । 

खेल अवधिभर मेसीले पटकपटक उत्कृष्ट कला प्रदर्शन गरेका थिए । मेसी आफ्नो अन्तिम विश्वकप खेल्दै छन् । र, उनी विश्वकप उचाल्न तयार देखिन्छन् । तर, त्यसका लागि उनीसँग आउँदा दिनमा झन् ठूला चुनौती देखा पर्दै छन् । 

अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्यान्ड्स हिजै भएको प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो ।