मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Monday, 16 December, 2024
पर्यटकीयस्थल ठमेलमा बिहीबारको रात्रिकालीन दृश्य । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार o७:५३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट खोल्न पाइने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार o७:५३:oo

डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान दुई बजेसम्म र डिस्को तथा क्लब बिहान चार बजेसम्म सञ्चालन गर्न दिने प्रशासनको निर्णय

काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी जिल्ला प्रशासन कार्यालयले नयाँ समयतालिका लागू गरेको छ । जसअनुसार काठमाडौंमा मध्यराति १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । 

जिल्ला सुरक्षा समिति काठमाडौंको मंगलबार बसेको बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो । बिहीबार सार्वजनिक निर्णयअनुसार मदिरा पसल राति १० बजेसम्म, रेस्टुरेन्ट राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान दुई बजेसम्म र डिस्को तथा क्लब बिहान चार बजेसम्म सञ्चालन गर्न पाइनेछ । 

रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘रात्रिकालीन व्यवसायलाई सुव्यवस्थित गराउन व्यवसाय सञ्चालन गर्न पाउने समयबारे प्रस्ट निर्णय गरेका हौैँ,’ उनले भने, ‘यसबाट काठमाडौंमा पर्यटकीय तथा आर्थिक गतिविधि वृद्धि भई रोजगारी र आय–आर्जन बढ्ने अपेक्षा छ ।’ यो नियम काठमाडौंका सबै ठाउँमा लागू हुने सिडिओ उपाध्यायको भनाइ छ । समयको विषयमा विगतमा अष्पटता रहेकाले यसलाई प्रस्ट पारिएको उनी बताउँछन् । 

हाल धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेस्टुरेन्ट बन्द गराउँदै आएको छ । कतिपयले अदालतको आदेशका आधारमा राति अबेरसम्म रेस्टुरेन्ट तथा डिस्को सञ्चालन गर्दै आएका छन् । अब सबैका लागि समान नियम लागू गर्ने निर्णय भएको छ । यसअघि गृह मन्त्रालयले पर्यटकीय बजार २४सै घन्टा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, आंशिक रूपमा मात्र सो निर्णय कार्यान्वयन भएको छ । रात्रिकालीन व्यवसाय सञ्चालनको समयबारे पटक–पटक परिवर्तन हुँदै आएको छ । 

व्यवसायी र प्रहरीको असहमति  
रात्रिकालीन व्यवसायका लागि नयाँ समयतालिकाप्रति प्रहरी र व्यवसायीले भने असहमति जनाएका छन् । ठमेल पर्यटन परिषद्का अधिकारीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई भेटेर केही विषयमा असहमति व्यक्त गरेका छन् । 

‘निर्णय गर्दा हाम्रो राय लिइएन,’ ठमेल पर्यटन परिषद्का अध्यक्ष भवीश्वर शर्माले भने, ‘यसमा हाम्रा केही रिजर्भेसन छन् ।’ गृहकार्य नगरी यसरी रात्रिकालीन व्यवसाय सञ्चालनको नयाँ समयतालिका लागू गर्दा त्यसले व्यवसायलाई असर गर्न सक्ने उनी बताउँछन् । ‘के आधारमा चार बजेसम्म सञ्चालन गर्न दिने भन्ने प्रस्ट छैन,’ उनी भन्छन्, ‘अध्ययनविना यसरी सञ्चालन गर्न दिँदा आवासीय क्षेत्रमा ध्वनि प्रदूषणलगायत समस्या बढ्न सक्छ । हामी रातभरि नै व्यवसाय सञ्चालन गर्नुपर्ने पक्षमा छौँ, तर व्यवस्थित पनि होस्, आचारसंहिता पूर्ण रूपमा लागू होस् भन्ने चाहन्छौँ ।’ 

विगतमा सरकारले ठमेल र दरबारमार्गलाई मात्र २४ घन्टा सञ्चालन गर्न दिने तयारी गरेको थियो । हाल काठमाडौंका सबै क्षेत्रमा एउटै नियम लागू गरिएको छ । यसबाट व्यापार खस्कन सक्ने भएकाले ठमेल तथा दरबारमार्ग क्षेत्रका व्यवसायीमा असन्तुष्टि देखिएको स्रोत बताउँछ । 

ठमेलमा अहिले पनि ठूला क्लबहरू बिहान ५–६ बजेसम्मै सञ्चालन हुँदै आएका छन् । कतिपयले अदालतको आदेशमा टेकेर अबेरसम्म सञ्चालन गर्दै आएका छन् । अब सबै क्लब तथा लाउन्ज बारलाई एउटै नियम लागू भएपछि ठूला व्यवसायीहरूले आफ्नो व्यवसाय खस्कन सक्ने भएकाले जिल्ला प्रशासनको निर्णयमा असहमति जनाएको स्रोत बताउँछ । प्रशासनको निर्णयप्रति प्रहरी अधिकारीहरू पनि सन्तुष्ट छैनन् । काठमाडौंभरि राति १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न दिँदा सुरक्षा अवस्था खस्किने उनीहरूको चिन्ता छ । हाल ठमेल–दरबारमार्गमा राति १२ बजेसम्म र अन्यत्र १० बजे नै प्रहरीले रेस्टुरेन्ट बन्द गराउँछ । पर्याप्त तयारीविना नै जिल्ला प्रशासनबाट यस्तो निर्णय भएको एक प्रहरी अधिकारीको भनाइ छ । 

निर्णयको विषयमा प्रशासन र प्रहरीकै बुझाइमा समेत फरकपन छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहरा सुरक्षा समितिको निर्णयमा नयाँ विषय नभएको दाबी गर्छन् । ठूला रेस्टुरेन्टको हकमा मात्र राति १२ बजेसम्म खोल्ने दिने निर्णय भएको उनको भनाइ छ । ‘साना रेस्टुरेन्टहरू नौ बजे  नै बन्द गर्नुपर्छ, सूचनामा साना रेस्टुरेन्टलाई के शब्द राख्ने भनेर छुटेको हो,’ उनले भने, ‘रात्रिकालीन व्यवसायको हकमा अहिले जे भइरहेको छ, त्योभन्दा धेरै फरक हुँदैन ।’