मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १२ सोमबार १५:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१० वर्षअघि छाडेको पार्टीकै भोटबाट तय भयो अशोक राईको संसदीय यात्रा 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार १५:३६:००

सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

सोमबार सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शरिन तामाङलाई चार सय ५३ मतले पछि पार्दै राईले प्रतिनिधिसभा सदस्यमा जित हात पारेका हुन्। 

राईले १७ हजार ५९ र तामाङले १६ हजार ६ सय ६ मत पाएका छन्। सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता मुक्साङहाङ मेन्याङ्बो १३ हजार ८७ मत ल्याएर तेस्राे भए।

१० वर्षअघि नेकपा एमाले छाडेका राईले त्यही एमालेको मतले प्रतिनिधिसभा यात्रा तय गर्न सफल भएका छन्। ०४८ र ०५१ साल खोटाङमा एमालेबाटै निर्वाचित भएका थिए। 

०५६ मा उनी उदयपुर २ नम्बर क्षेत्रबाट चुनाव लडेपछि पराजित भएका थिए। ०६९ सालमा एमाले छाडेर संघीय समाजवादी पार्टी गठन गरेर अध्यक्ष बनेका थिए। राई ०७० सालमा संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित भएका थिए। ०७४ मा कांग्रेससँगको गठबन्धनबाट सुनसरी– १ बाटै उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग २२ हजार मतान्तरले पराजित भएका थिए। 

संयोगवश २०७४ सालमा चुनाव हराउने एमाललेकै समर्थन र भोटले ०७९ सालको निर्वाचनमा विजयी भई प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्न सफल भएका छन्। जसपाको सुनसरी क्षेत्र नम्बर १ मा करिब तीन हजार मत छ। 

एमालेमा रहँदा शक्तिशाली उपाध्यक्षसमेत रहेका राई ०५१ मा एमालेबाट यातायातमन्त्री भए। ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री भए र ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्रीसमेत भएका थिए।

०७९ सालको निर्वाचनमा सुनसरी– १ मा एमाले–जसपा तालमेलबाट उनलाई पार्टीले टिकट दिएको थियो। 

उनीसँगै सुनसरी १(क)मा नेकपा एमालेका रमेशकुमार बस्नेत विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश थापालाई एक हजार तीन सय ५० मतले पराजित गर्दै बस्नेत विजयी भए। बस्नेतले ११ हजार एक सय दुई  मत प्राप्त गर्दा थापाले नाै हजार सात सय ५२ मत प्राप्त गरेका थिए। 

यस्तै, सुनसरी १(ख)बाट नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार राई राप्रपाका उम्मेदवार अनिश ढकाललाई चार हजार नाै सय ८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। राईले १२ हजार चार सय ६४ मत पाउँदा राप्रपाका ढकालले सात हजार चार सय ८२ मत पाए।

यस्तै, सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले चार हजार नाै सय ८८ मत पाए भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार आठ सय ३८ मत पाए।