सर्लाहीका दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको बागमती नगरपालिका र बलरा नगरपालिकाको मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा बागमती नगरपालिका– १२ का २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका– ४ जब्दीका २८ वर्षीय आदित्य सिंह रहेका छन्।
मोक्तानले सोही स्थानको बथनिया प्रावि मतदान केन्द्रबाट र सिंहले जब्दी प्रावि मतदान केन्द्रबाट अरूको नामबाट मत दिन खोजेकाे बताइएको छ। पक्राउ परेका दुवैलाई निर्वाचन ऐनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए।