दुई सातापछि सञ्चालनमा आयो मालढुंगाको पुल

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

बागलुङ । कालीगण्डकीमा नदीमा आएको बाढीका कारण असोज ११  गते बन्द रहेको बागलुङ–पर्वत जोड्ने मालढुंगाको पुल सोमबार बिहानबाट सञ्चालनमा आएको छ । पुलको पर्वत खण्डको भाग बाढीले बगाउँदा दुई सातादेखि यातायात ठप्प रहेको थियो ।

सडक बन्द हुँदा बागलुङसहित रुकुम, रोल्पा, जाजरकोटलगायत मध्यपहाडी लोकमार्ग हुँदै गुड्ने सवारीसाधन आवतजावतमा समस्या भएको थियो । 

दैनिक १५ देखि १८ घण्टाका निरन्तर कामपश्चात् पुलको पहुँच मार्ग निर्माण भएपछि यातायात सञ्चालनमा आएको छ । दसैँको वेलामा मुख्य पुल नै बन्द हुँदा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो भने बागलुङ बजारमा महँगी बढेको थियो । निर्माणका निम्ति सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीसहित बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

चाडबाडका वेला यातायात बन्द हुँदा बागलुङको व्यापार–व्यवसाय र पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको थियो । मालढुंगा पुल हुँदै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरू पनि आउन सकेका थिएनन् ।

असोज ११ गतेदेखि पोखरा बागलुङ सिधा यातायात टुटेको थियो । अत्यावश्यक सेवाका सामान समेत ढुवानी गर्न कठिनाइ भएको थियो ।

पुल बन्द हुँदा वैकल्पिक मार्ग कालीगण्डकी करिडोर, जैमिनी घामको पुल हुँदै पर्वतको फलेबासको सडक हुँदै पोखरा जानुपर्ने थियो भने, पोखरा–बेनी सडकअन्तर्गत खनियाघाटको पुल पैदल तरेर बागलुङ जानुपर्ने बाध्यता रहेको थियो । त्यो बाध्यता टरेको छ । 
 

मालढुंगा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको मुख्य केन्द्र हो । यही पुल हुँदै दुईवटा राजमार्गमा यात्रुले यात्रा गर्दै आएका छन् । पुल सञ्चालनमा आएसँगै बागलुङका व्यवसायी पनि खुसी भएका छन् ।

बाढीपहिरोका कारण सुस्ताएको व्यवसाय अब पुनः सञ्चालन हुनेमा उनीहरू विश्वस्त रहेका छन् ।

सुझावित समाचार