गैँडाकोटमा स्कुलबस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

नवलपुर । नवलपुरको गैँडाकोटमा स्कुलबस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

सोमबार बिहान करिब ८:३० बजे गैँडाकोट नगरपालिका– ५, कुसुमपाटस्थित भित्री सडकखण्डमा गैँडाकोट इंग्लिस स्कुलको बस र मोटरसाइकल ठोक्किएका हुन्।

कालिकाचोकबाट श्रीराम प्यालेसतर्फ जाँदै गरेको ग.१ख ३९७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ४५७२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलचालक गैँडाकोट नगरपालिका– ६ निवासी २६ वर्षीय राजु थापा गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान ९:३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बसचालक गैँडाकोट नगरपालिका– १, धारापानीनिवासी ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार