विश्व बैंक र आइएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् ।

वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ । बैठकमा विश्वभरका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

भ्रमणका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था, अन्तर्राष्ट्रिय वित्तीय सहकार्य, वैदेशिक लगानी अभिवृद्धि तथा प्राथमिकताप्राप्त विकास आयोजनाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै, विभिन्न देश तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँगको भेटघाटले नेपालको आर्थिक विकासका लागि सहयोग र लगानीका अवसर विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री वाग्लेको टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई सहभागी छन् ।

विभिन्न द्विपक्षीय भेटघाट तथा बहुपक्षीय छलफलमा सहभागी भएर अर्थमन्त्री वाग्ले नेतृत्वको टोली आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सुझावित समाचार