धनकुटा । महालक्ष्मी नगरपालिका– ४, चानुवामा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाख रुपैयाँबराबरको क्षति भएको छ।
मंगलबार बिहान ९ः१० बजे योगेश अधिकारीको टिनको छानो भएको काठपात र टिनले बनेको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। आगलागीको जानकारी प्राप्त भएपछि प्रहरी चौकी चानुवाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आगलागीबाट घरसहित भित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न तथा सोही घरमा सञ्चालित कस्मेटिक पसलका सामान पूर्ण रूपमा जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।