मुगु । मुगुको खत्याड गाउँपालिका– ११, बिराबगरमा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।
सोमबार बिहान करिब ८:३० बजे खत्याड–रारा जोड्ने सडकखण्डअन्तर्गत बेलिब्रिज पुलसँग सडक जोड्ने क्रममा माथिबाट अचानक सुक्खा पहिरो खसेको हो। सडक कटान गरिरहेका वेला पहिरो खस्दा बा.३क ३२७६ नम्बरको एक्स्काभेटरसहित चालक पुरिएका हुन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार पहिरोमा परी बझाङ घर भएका २४ वर्षीय चालक विमल बाग पुरिएका छन्। उनको विस्तृत ठेगाना भने खुल्न सकेको छैन।
दुर्घटनामा एक्स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका– १ का २२ वर्षीय विनय मल्ल घाइते भएका छन्। एक्स्काभेटरबाहिर बसेर माथिबाट ढुंगा खस्ने सम्भावनाबारे निगरानी गरिरहेका मल्ललाई अचानक खसेको ढुंगाले हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनी सामान्य अवस्थामा रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
पुरिएका चालकको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको नेतृत्वमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको नेतृत्वमा सातजना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका थिए।
प्रहरी टोलीले डोजरको सहायताले पहिरो हटाएर एक्स्काभेटर बाहिर निकालेको र पुरिएका चालकलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लगिएको प्रहरीले जनाएको छ।