काठमाडौं/ आइतबार बिहान सिरिङ्गे हिमालमा गएको हिमपहिरोका कारण उइङ्गुलुङ खोला थुनिएर गोरखाको बुढीगण्डकी नदीमा बाढी आएपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका कार्यलाई तीव्रता दिएको छ।
बाढी प्रभावित क्षेत्रबाट १९ जना विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ। पाँचजना स्थानीयवासी सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मीले उनीहरूको खोजी कार्य जारी राखेका छन्। विपतपछिको प्रतिकार्यका लागि विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा हालसम्म ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढीका क्रममा आरुघाट जलमापन केन्द्रमा बुढीगण्डकी नदीको सतह खतराको तह ५ मिटरभन्दा माथि पुगेर ८.४३ मिटर पुगेको थियो। सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न करिब दुई लाखजनालाई पूर्वसूचनासहितको सन्देश पठाइएको थियो। त्यसैगरी, प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक बसेर अवस्थाको निरन्तर अनुगमन गर्नुका साथै उद्धार कार्य परिचालन गरेको थियो।
बाढीले गोरखा र धादिङका २०० भन्दा बढी घरमा क्षति पुर्याएको छ। त्यस्तै, करिब १५० चौँरीगाई तथा भेडाबाख्रा बगाएको प्रारम्भिक विवरण छ। बाढीका कारण खानेपानी आयोजना, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालयलगायतका संरचनामा क्षति पुगेको छ। मनास्लु पदमार्ग तथा गोरखा–धादिङ जोड्ने मुख्य सडकका तीनवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएका छन्।
विपद्पछिको प्रतिकार्य र पुनर्निर्माणलाई तीव्रता दिँदै सरकारले राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने कार्य पनि अघि बढाएको छ। आज मात्रै काठमाडौंबाट हवाई साधनमार्फत गोरखाको फिलिममा चार हजार २७० किलोग्राम खाद्यान्न र एक हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरिएको छ। यससँगै प्रभावित क्षेत्रमा आपत्कालीन राहत वितरण सुरु गरिएको छ।
यसैबिच, आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालनमा ल्याउन हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर निर्माण कार्य तीव्र पारिएको छ। छेपारे भिरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ।
सरकारले दसैँअघि नै बाढीका कारण अवरुद्ध भएका सबै सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। उद्धार, राहत वितरण, सडक तथा पुल पुनर्निर्माण र प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सम्बन्धित निकायहरू परिचालित भइरहेका छन्।