उदयपुरमा एकै रातमा एक हजार केजीभन्दा बढी गाँजा र एक बोलेरो जिप बरामद, एकजना पक्राउ

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । उदयपुरमा प्रहरीले एकै रातमा एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् भने गाँजा बोकेको बोलेरो पनि बरामद भएको हो । 

गएराति  इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार बिहानसम्म कटारी नगरपालिका– ६ स्थित साँगुरी पुलनजिकैको जंगल र चौदण्डीगढी नगरपालिका– १ चारघरेबाट गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार असोज २५ गते राति करिब १०ः२० बजे कटारी नगरपालिका– ६ स्थित साँगुरी पुलनजिकैको जंगलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ । तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका– २ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनका अनुसार त्यस्तै, असोज २६ गते बिहान करिब २ बजे चौदण्डीगढी नगरपालिका– १, चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरेर राखिएको बा.१४च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा रहेको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार ४० केजी ४४० ग्राम छ । दोस्रो घटनामा उल्लेख गरिएको तौलमा बोरासमेत समावेश छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । बोलेरोबाट गाँजा बरामद भएको घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले उनको भनाइ छ ।

सुझावित समाचार