इजरायल रोजगारी प्रकरणः मन्त्रिपरिषद्कै एजेन्डा किर्ते गरेर असुली, संगठित अपराधमा अनुसन्धान

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ मन्त्रिपरिषद्बाटै निर्णय गराएर रोजगारीमा इजरायल पठाउने भन्दै ठगी गरेको घटनामा प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान थालेको छ। यसअघि ठगीको कसुरमा मात्र अनुसन्धान गर्दै आएकामा घटनामा संगठित प्रकृतिको देखिएपछि संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)का प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीले बताए। 

सिआइबीले यसमा कांग्रेसका दुई नेतासहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। ठगीका योजनाकार कांग्रेस नेता भरत चौलागाई‌ं तथा उनलाई सघाउने बालिका सिवाकोटी र विनिता खड्कालाई सिआइबीले पक्राउ गरेको हो। ठगीका लागि किर्ते कागजपत्र बनाएर सघाउने अन्य दुईजनालाई पनि पक्राउ गरिएको सिआइबीका एआइजी चतुर्वेदीले बताए। 

अनुसन्धानको क्रममा मन्त्रिपरिषद्कै एजेन्डा  किर्ते गरेको फेला परेको छ । ‘मन्त्रिपरिषद्बाट परीक्षामा अनुत्तीर्ण भएकालाई पनि इजरायल पठाउने भनेर मन्त्रिपरिषद्को एजेन्डा किर्ते बनाएको भेटिएको छ,’ एआइजी चतुर्वेदी भन्छन्,त्यही किर्ते एजेन्डा देखाएर पैसा असुली भएको भएको देखिन्छ ।’ यसरी पाँच करोडभन्दा धेरै रकम उठाइएको थियो । प्रधानमन्त्रीका सल्लाहकारसँग सेटिङ मिलाएर इजरायल पठाउने भनेर यस्तो ठगी भएको प्रहरीले जनाएको छ । यसमा अन्य केही व्यक्तिको पनि संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । चौलागाईंले यसरी उठाएकोमध्ये एक करोड रुपैयाँ विनिता खड्काको खातामा जम्मा गरेका थिए। केही रकम ऋण तिरेको खुलेको छ । 

पैसा बुझाएको लामो समय हुँदा पनि प्रक्रिया अघि नबढेपछि ठगिएको महसुस गरी पीडितहरूले उजुरी गरेका हुन्। ठगीका योजनाकार चौलागाईं यसअघि पनि यस्ता प्रकरणमा संलग्न देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सबै पीडितलाई उजुरी गर्न आह्वान गरेको छ । 
 

सुझावित समाचार