महामन्त्रीमा पराजित भएपछि सुनील शर्माले भने– पार्टी रूपान्तरणको संकल्प यथावत्

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका डा. सुनीलकुमार शर्माले पार्टी रूपान्तरण र जनसेवाप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले पदमा रहे पनि नरहे पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्रै नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने उद्देश्यबाट प्रेरित रहेको उनको भनाइ छ ।

‘महान् नेता बिपी कोइरालाको विचार र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ,’ शर्माले लेखेका छन् ।

महामन्त्री पदमा पराजित भए पनि उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । साथै, आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि, सहयोग गर्ने अग्रज, सहयात्री तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

निर्वाचनमा प्राप्त मत र समर्थकहरूको सदभावले आफूलाई थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको शर्माले बताएका छन् । कांग्रेसभित्र सकारात्मक परिवर्तन, संगठन सुदृढीकरण र जनउत्तरदायी राजनीतिक संस्कारको विकासका लागि आफ्नो प्रयास निरन्तर जारी रहने उनको भनाइ छ ।

उनले आगामी दिनमा पार्टीका निर्वाचित पदाधिकारी, चुनावी प्रतिस्पर्धामा रहेका नेताहरू र कार्यकर्तासँग सहकार्य गर्दै देश तथा जनताको हितमा काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

पदमा रहेर वा नरहे पनि दूरदराजमा बसोबास गर्ने नागरिकको सेवामा समर्पित रहने उल्लेख गर्दै शर्माले जनसेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढ्ने बताएका छन् ।

सुझावित समाचार