काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेसामा सफल हुन नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले प्रहरी सेवामा आबद्ध व्यक्तिहरूलाई पेसागत आचरण, अनुशासन र जिम्मेवारीप्रति जवाफदेही हुँदै कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिमका क्रममा सिकेका ज्ञान, सिप र अनुभवलाई व्यवहारमा उतार्न आग्रह गरे।
उनले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्नु र गराउनु पेसागत सफलता तथा जिम्मेवारी निर्वाहका लागि महत्त्वपूर्ण रहेको बताए। प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा पनि उनले जोड दिए।
प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गरे। यस्तो जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष र भेदभावरहित ढंगले काम गर्न उनले प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
नागरिकका भावना र अपेक्षालाई आत्मसात् गर्दै संगठनको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने उनको भनाइ थियो। उनले प्रहरी संगठनभित्र सहयोग, सहकार्य र आपसी समन्वयलाई प्रभावकारी बनाउनसमेत आग्रह गरे।
प्रधानमन्त्री शाहले अपराध अनुसन्धान तथा प्रहरी कार्यसम्पादनलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको बताए। प्रविधिको सदुपयोगबाट कामलाई छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने तथा अपराध अनुसन्धान र घटनाको नियन्त्रणमा समेत सहयोग पुग्ने उनले उल्लेख गरे।
‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,’ प्रधानमन्त्री शाहले भने। यसका लागि प्रहरी संगठनको नेतृत्व र प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
सरकारले प्रभावकारी अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन तथा प्रहरीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।
समारोहमा प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध रहन उनीहरूलाई निरन्तर प्रेरणा र सहयोग प्रदान गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।
समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।