दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

धादिङ/ शुक्रबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गजुरी गाउँपालिका–५, गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग नयाँ ट्रयाक निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो।

नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सडक भासिएपछि शुक्रबार साँझदेखि अवरुद्ध राजमार्गमा शनिबार बिहानैदेखि नयाँ ट्रयाकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो।

‘शनिबार मध्यराति पनि नयाँ ट्रयाकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो। लामो जाम र यात्रुहरूका प्रेसरका कारण राजमार्ग सुचारु गरिएको हो। काम अझै बाँकी छन्। यातायात चल्दै गर्छ काम पनि गर्दै गर्छौं। आइतबार दिनभर सडक चौडा बनाउने, कटान गरिएको माटो पन्छाउने काम गरेपछि राजमार्ग सुचारु गरिएको हो,’ उनले भने।

सडक खुलाउन ६ वटा एक्साभेटर, दुईवटा लोडर र दुईवटा ब्याकहो लोडर परिचालन गरिएको थियो। ‘काम छिटो सम्पन्न गर्न रातको समयमा समेत बत्ती बालेर कटान गरिएको हो,’ उनले भने, ‘भासिएको सडकको कुनातर्फको भित्ता काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो।’

राजमार्ग सञ्चालनमा ल्याउन १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १२ मिटरसम्म उचाइको भित्ता काट्ने, सडकको कटान गरिएको माटो पन्छाउने, ट्रयाकलाई दुईतर्फी सवारी चल्न मिल्ने गरी चौडा गराइएको छ। ‘थुपारिएको केही माटो र ग्राबेलको काम भने गर्न बाँकी छ। अर्को ठुलो समस्या नआए यातायात सञ्चालन गर्दै काम गर्छौं,’ उनले भने।

राजमार्ग सञ्चालनमा आए पनि गलौँदी क्षेत्रमा सवारीसाधनको चाप भने अत्यधिक छ। लामो समय रोकिएका सवारीसाधन एकैपटक गन्तव्यतर्फ लाग्दा सवारी व्यवस्थापनमा चुनौती देखिएको छ। राजमार्ग खुल्दा यात्रुलाई राहत मिले पनि सवारी चापका कारण यात्रा सहज हुन सकेको छैन।

त्रिशूली नदीको कटानका कारण गलौँदी क्षेत्रमा सडकको करिब ६० मिटर भागमा चिरा परेको थियो। त्यसमध्ये करिब ३५ मिटर सडक भासिएर तल खसेको थियो। सडक थप भासिने र पहिरो जाने जोखिम बढेपछि प्रहरीले शुक्रबारदेखि नै दुवैतर्फको सवारी आवागमन बन्द गराएको थियो।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडक हो। दैनिक १३ हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडपर्वको समयमा भने तेब्बर चाप हुने गरेको छ।

सुझावित समाचार