धनकुटा/ चाडपर्वलाई लक्षित गर्दै धनकुटाको पाख्रिबासमा छड्के बजार अनुगमन गरिएको छ। पाख्रिबास बजारमा सञ्चालनमा रहेका दुई होटेल तथा १० वटा किराना र खुद्रा पसलमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा चामल, बिस्कुट, मसला, कोक, स्प्राइट, फेन्टा, मिरिन्डालगायत विभिन्न पेय पदार्थ तथा अन्य म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन्। अनुगमन टोलीले करिब २१ हजार रुपैयाँबराबरका म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले बताए। अनुगमनका क्रममा कतिपय पसलमा मूल्यसूची नराखिएकोसमेत पाइएको छ।
त्यस्ता व्यवसायीलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले बताए। म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई सचेत गराउँदै त्यस्ता वस्तु बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार जरिवाना तथा कारबाही हुने चेतावनी दिइएको उनले बताए। कतिपय पसल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले व्यवसाय सुधार गर्नसमेत निर्देशन दिइएको छ।
चाडपर्व नजिकिएसँगै बजारमा खाद्यवस्तुको माग र कारोबार बढ्ने भएकाले उपभोक्तालाई ठगी तथा गुणस्तरहीन वस्तुको बिक्रीबाट जोगाउन बजार अनुगमनलाई तीव्रता दिइएको बताइएको छ। बजार अनुगमन जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय पाख्रिबास तथा स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले गरेको थियो।