लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेलाई विद्यार्थीहरूले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न गरेका छन्। एसइई सुधार योजनादेखि शैक्षिक गुणस्तर अभिवृद्धि, छात्रवृत्ति, विद्यालयको भौतिक पूर्वाधार तथा नमुना विद्यालयमा उपलब्ध गराइएका सुविधासम्मका विषयमा विद्यार्थीहरूले मन्त्रीसँग जिज्ञासा राखेका हुन्।
बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा आयोजित ‘सामाजिक विकास मन्त्रीसँग विद्यार्थी’ कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न प्रश्न गरेका थिए । विद्यार्थीहरूले मन्त्री घिमिरेको विद्यार्थी जीवनबारे समेत जिज्ञासा राखेका थिए।
अञ्जना ज्ञवाली, प्रमोद आचार्य, अनिषा भण्डारी, कीर्तन जोशी, सदिक्षा ज्ञवालीलगायतका विद्यार्थीहरूले लुम्बिनी प्रदेशको एसइई सुधार योजना, शैक्षिक गुणस्तर अभिवृद्धिको योजना, प्राविधिक धारमा अध्ययनरत सबै छात्रालाई छात्रवृत्ति उपलब्ध नगराइनुको कारण, धेरै विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासका लागि मन्त्रालयको योजना र प्रदेशका नमुना विद्यालयमा खेलकुद प्रशिक्षक तथा स्टाफ नर्सको व्यवस्था निरन्तरता नदिनुको कारणबारे प्रश्न गरेका थिए।
विद्यार्थीका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले देशमा जन्मदर घट्दै जानु, सहरीकरण तथा बसाइँसराइका कारण विशेषगरी पहाडी क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घट्ने समस्या देखिएको बताए। तराई क्षेत्रमा भइरहेको तीव्र बसाइँसराइका कारण केही विद्यालयमा भने विद्यार्थीको चाप बढेको उनको भनाइ थियो।
विद्यार्थी संख्या बढी भएका विद्यालयमा भौतिक पूर्वाधार विकाससँगै शिक्षकको क्षमता अभिवृद्धि र नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिने योजना रहेको मन्त्री घिमिरेले बताए।उनले सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा शिक्षाका लागि ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा विद्यार्थीहरूले शिक्षा क्षेत्रका नीतिगत तथा व्यवहारिक विषयसँगै मन्त्री घिमिरेको विद्यार्थी जीवनबारे पनि जिज्ञासा राखेका थिए।
उत्कृष्ट विद्यार्थीलाई ९० हजार पुरस्कार
कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहबाट उत्कृष्ट जिपिए प्राप्त गर्ने २४ जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। सामाजिक विकास मन्त्री घिमिरेले उत्कृष्ट विद्यार्थीलाई न्यूनतम १ हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म गरी कुल ९० हजार रुपैयाँ पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख उपसचिव विष्णुप्रसाद पन्थी, सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख उपसचिव हरिबहादुर बिष्ट, बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य हुमकान्त लम्साल र लक्ष्मीनारायण चौधरीलगायतको सहभागिता थियो।
त्यस्तै, शिक्षक–अभिभावक संघका सदस्य गणेशबहादुर कुँवर, ज्योती थापा र जयराम पन्थी, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, अंग्रेजी विषय विभागीय प्रमुख राजन अधिकारी र गणित विषय संयोजक तुल्सीराम घिमिरेलगायतको उपस्थिति थियो।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रम विज्ञान समूह कक्षा ११ की विद्यार्थी अञ्जना ज्ञवालीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विद्यालयका समग्र शैक्षिक तथा अन्य गतिविधिबारे प्रधानाध्यापक बस्नेतले जानकारी गराएका थिए।