जिल्ला प्रहरी कार्यालय सुनसरीले ५६४ किलो लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनामा संलग्न चालक भने गाडी छाडेर फरार भएका छन्।
बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डमा बुधबार राति करिब ११ः४० बजे इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडवा र बीओपी अमडवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १९ च १३८८ नम्बरको सुमो चेकजाँच गरेको थियो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा चालकले गाडी छाडेर फरार भएका थिए। त्यसपछि गाडी खानतलासी गर्दा ५६४ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको हो।
प्रहरीले उक्त पदार्थ र सुमो गाडी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा ल्याएको जनाएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।