एमाले अध्यक्ष केपी ओलीले असहमति सुनुवाइ गर्दै पार्टीलाई एकढिक्काका साथ अगाडि बढाउने बताएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै उनले शत्रुको प्रहार र लात सहने, तर आफ्नै साथीको सामान्य बात पनि नसहने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,’ ओलीले भने ।
उनले विरोधीहरूले एमाले फुट्छ भनेर दिवास्वप्न देखेको टिप्पणी गर्दै पार्टी विचार र संगठन दुवै दृष्टिकोणले अक्षुण्ण र एकढिक्का रहेकोसमेत प्रस्ट्याए । पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सानातिना मतभेद बिर्सिएर अघि बढ्न नेता–कार्यकर्तालाई उनले निर्देशन पनि दिए ।
सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै ओलीले देशमा फासीवादी शासनको अभ्यास भइरहेको आरोप पनि लगाए । ‘हामी देशको स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रताका लागि लडेर आएका शक्ति हौँ,’ उनले भने, ‘अहिले देशमा प्रजातन्त्र खोसिएको छ । यसलाई फिर्ता ल्याउनु र आगामी निर्वाचनको पूर्ण तयारी गर्नु नै हाम्रा मुख्य दुई कार्यभार हुन् ।’