मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
 बुधबार जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले बोलाएको सरोकारवालाको बैठक ।
हदिश खुद्दार जनकपुरधाम
२o८३ असोज १५ बिहीबार १o:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जानकी मन्दिरलाई पुनः विश्वसम्पदा सूचीमा राख्ने तयारी 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १o:oo:oo
  • जनकपुरधाम उपमहानगर प्रमुख साहको संयोजकत्वमा समिति गठन, सरोकारवालासँग सुझाव संकलन गरिँदै

जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारी पुनः सुरु भएको छ । जानकी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा वास्तुकलाको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन लागिएको हो । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिकाले प्रारम्भिक प्रतिवेदन तयार गरी विज्ञ, समाजका अगुवा तथा सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ ।

यसअघि जनकपुरधामका निवर्तमान नगरप्रमुख लालकिशोर साहको पालामा पनि जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न प्रयास गरिएको थियो । संघीय सरकारले चासो नदिँदा सफल हुन सकेन । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार प्रारम्भिक प्रतिवेदनमाथि आवश्यक सुझाव लिएर अन्तिम रूप दिने तयारी भइरहेको छ । अन्तिम प्रतिवेदन तयार भएपछि विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि युनेस्कोमा पेस गर्ने योजना रहेको उनले बताए । यसका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले जानकी मन्दिरको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्व, वास्तुकला र यससँग जोडिएका सम्पदाको अवस्थालगायत विषयलाई समेटेर प्रतिवेदन तयार गर्ने काम अघि बढाएको छ । तर, विश्वसम्पदा सूचीमा सूचीकृत गराउने पहलसँगै मन्दिर र आसपासका सम्पदाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौतीसमेत देखिएको छ । नेपाल सरकारले गत १३ भदौको मन्त्रिपरिषद्बाट जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको अवस्थामा अब उक्त निर्णयलाई व्यवहारमै कार्यान्वयनमा ल्याउनुपर्ने सरोकारवालाको जोड छ ।

पुरातत्व क्षेत्रमा काम गरिसकेका रामबाबु दहालका अनुसार संरक्षित स्मारक क्षेत्रको चार किल्लाभित्र रहेका मठमन्दिर, पोखरी, सरोवर तथा अन्य ऐतिहासिक र पुरातात्विकमहत्वका स्थलको विस्तृत सर्वेक्षण आवश्यक छ । ‘संरक्षित क्षेत्र घोषणा गर्नु मात्र पर्याप्त हुँदैन,’ दहालले भने, ‘चार किल्लाभित्र रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाको सर्वेक्षण गरी तिनको अवस्था, महत्व र संरक्षण आवश्यकताबारे अभिलेख तयार गर्नुपर्छ ।’ उनका अनुसार सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन नसकिए विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया जटिल बन्न सक्छ । 

सरोकारवालाले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन यसको ऐतिहासिकता र धार्मिक महत्व मात्रै प्रस्तुत गरेर नपुग्ने बताए । मन्दिरको निर्माण शैली, वास्तुकला, ऐतिहासिक प्रमाण, मिथिला सभ्यता र संस्कृतिसँगको सम्बन्ध, धार्मिक परम्परा तथा स्थानीय समुदायसँगको सम्बन्धलाई प्रमाण र तथ्यका आधारमा व्यवस्थित दस्ताबेजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ । 

जानकी मन्दिरवरपरको भौतिक संरचना र विकास निर्माण पनि संरक्षणको अर्को महत्वपूर्ण विषय बनेको छ । ऐतिहासिक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी निर्माण तथा पुनर्निर्माणका काम हुन नदिई सम्पदा संरक्षण र पूर्वाधार विकासबिच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । संरक्षित स्मारक क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य सांस्कृतिक सम्पदाको अवस्था पहिचान गरी प्राथमिकताका आधारमा संरक्षण योजना बनाउनुपर्ने सरोकारवालाको सुझाव छ । जानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारीले जनकपुरधामको धार्मिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसर सिर्जना गरे पनि त्यसका लागि आवश्यक प्रमाण, अभिलेख, संरक्षणको अवस्था र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनुपर्ने देखिएको छ । 

 

↑